सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा देहत्याग भयावह, छैन राज्यलाई चिन्ता

२०८० चैत्र १३, १२:२९ खबर संवाददाता

धनगढीः गत फागुन ३ गते डोटीमा एक किशोरी मृत फेला परिन्।

जिल्लाको दीपायल–सिलगढी नगरपालिका–९ तल्लो कलेनाकी १९ वर्षीया जानकी साउँद मृत फेला परेकी थिइन। उनी घर नजिकै प्राण त्याग गरेको अवस्थामा फेला परेकी हुन्। देहत्याग गर्नुको ठोस कारण भने खुलेको छैन्। उता बैतडीमा पनि यही चैत ११ गते एक अर्की किशोरी मृत फेला परेकी थिइन्।

जिल्लाको दोगडाकेदार गाउँपालिका–२ कफलकोटकी १७ वर्षीया पशुपति महरा मृत फेला परेकी थिइन्। उनी घरभन्दा दुई सय मिटर टाढा देहत्याग गरेको अवस्थामा भेटिएकी थिइन्। रौलेश्वर माध्यमामिक विद्यालय कफलकोटमा कक्षा ११ मा अध्ययनरत महराले प्राण त्याग गर्नुको कारण भने खुलेको छैन।

गत वर्षको बैशाखमा कैलालीको धनगढीमा एक किशोरी मृत फेला परेकी थिइन्। धनगढी उपमहानगरपालिका–६ जालीमा १८ वर्षीया ज्योती श्रेष्ठ मृत फेला परेकी थिइन्। उनी आफू सुत्ने कोठामा देहत्याग गरेको अवस्थामा फेला परेकी थिइन्। यी तीन घटना केवल प्रतिनिधि उदाहरण मात्र हुन्।

पछिल्लो समय किशोरीसँगै किशोरले समेत देहत्याग गर्ने क्रम डरलाग्दो रुपमा बढेको छ। स्कुल तथा कलेजमा अध्ययनरत किशोरीदेखि युवासम्मै देहत्याग गर्ने बढेका छन्। देहत्याग गर्नेको संख्या यो वर्ष पनि बढ्दो क्रममा देखिएको छ। चालु आर्थिक वर्ष सुरु भएसँगै यसरी आफैले आफ्नो प्राण त्याग गर्नेको संख्या बढेको छ। 

चालु आर्थिक वर्षको साउनदेखि माघ मसान्तसम्म एक सय २० किशोर, किशोरीसँगै महिला र पुरुषले प्राण त्याग गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको तथ्यांक छ। अघिल्लो आर्थिक वर्षको सोहि अवधिसम्म पनि यसरी प्राण त्याग गर्नेको संख्या एक सय २० भन्दा बढी नै थियो। यसरी अकालमै प्राण त्याग गर्नेको संख्या बर्सेनि प्रदेशभित्र बढ्दै गए पनि यो विषयमा राज्यका कुनै पनि अंग गम्भीर बन्न सकेका छैनन्।

कमेन्ट लोड गर्नुस