विषादी सेवन गरेका रानालाई नगर प्रहरीले उठाएर ल्याएको आरोप झुटो साबित
धनगढीः कैलालीको धनगढीका जग्गा कारोबारीले गणेश रानालाई नगर प्रहरीले घरबाटै उठाएर ल्याएको भन्ने आरोप झुटो साबित भएको छ।
चैत ६ गते नगरपालिका पुगेर विषादी सेवन गरेका रानालाई नगर प्रहरीले घरबाट उठाएर ल्याएको आरोप जग्गा कारोबारीहरूले लगाउँदै आएका थिए। रानाले धनगढी उप–महानगरपालिका भवनभित्र आफै आएर विष सेवन गरेको भए पनि जग्गा कारोबारी उपेन्द्र अवस्थी र प्रभातकुमार चौधरीले सादा पोसाकमा गएका नगर प्रहरीले रानालाई घरबाटै उठाएको दाबी गरेका थिए।
अवस्थी र चौधरीले नगर प्रमुख गोपाल हमालको निर्देशनमा रानालाई नगर प्रहरीले विष सेवन गर्न लगाएको आरोप सार्वजनिक रूपमै लगाएका थिए। तर, राना मोटरसाइकल चढेर आफैं नगरपालिका पुगेको सिसिटिभी फुटेजमा देखिएको छ। चैत २ गते आइतवार जग्गा कारोबारीहरूले गरेको नगरपालिका घेराउ र तालाबन्दीमा सक्रिय देखिका रानाले मङ्गलवार कार्यपालिका भवनभित्र प्रवेश गर्दै विषादी सेवन गरेका हुन्।
रानाले विषादी सेवन गरेको देख्ना साथ नगर प्रहरीले उनको उद्धार गरेर उपचारका लागि सेती प्रादेशिक अस्पताल पुगाएको थियो। विषादी सेवन गरेका रानालाई तत्काल अस्पताल पुगाउने नगर प्रहरीलाई नै रानाका आफन्त र जग्गा कारोबारीले घाँटी च्यापेर विष सेवन गराएको आरोप लगाएका थिए। जग्गा कारोबारी प्रभातकुमार चौधरीले नगर प्रमुखको निर्देशनमा रानालाई नगर प्रहरीले नियन्त्रणमा लिएर घाँटी च्यापेर विष सेवन गर्न लगाएको आरोप लगएका थिए।
‘हाम्रो के ठम्याइ छ भने नगरपालिका भित्र लगेर घाँटी च्यापेर विष खुवाएको हुनुपर्छ भन्ने हाम्रो मान्यता छ है’, चौधरीले अगाडि भनेका छन्, ‘कुनै पनि व्यक्ति घरबाट निस्कने बेला के विष लिएर हिड्छ त? कोही हिन्दै हिन्दैन। उसको खल्तीमा डिब्बा हाल्दिने, त्यो प्रमाण यो हो भनेर; अनि आफ्नो बचाउको लागि?’ रानालाई नगर प्रहरीले घरबाट समातेर ल्याएको भन्ने जग्गा कारोबारीको दाबी विपरीत राना भने आफै नगरपालिका आएको भिडियोमा देख्न सकिन्छ।
नगरपालिका नजिकै रहेको प्रदेश प्रमुखको निवासमा पश्चिमतर्फ लगाएको सिसिटिभी क्यामेरामा राना कालोमा रातो धर्का भएको पल्सर बाइकमा चढेर देव तालिम केन्द्र जाने सडक हुँदै नगरपालिका आएको देखिन्छ। नगरपालिकाको पूर्वतर्फको पार्किङमा मोटरसाइकल राखेर, कालो चस्मा, क्याप टोपी, कालो पाइन्ट र कालो विन्ड चिटर लगाएर उनी भित्र आइरहेको भिडियो नगरपालिका भवनमा रहेको सिसिटिभी क्यामेरामा कैद भएको छ।
तर, जग्गा व्यवसायी संघका अध्यक्ष उपेन्द्र अवस्थीले भने नगर प्रहरी लगाएर रानालाई नगरपालिका ल्याइएको दाबी गरेका छन्। ‘नगर प्रहरीलाई प्रयोग गरेर राति उहाँले घरबाट उठाएर ल्याउनु भा रैछ। नगर प्रहरीले नै उठाउने भए उहाँले प्रशासनमा उजुरी दिने हो त? नगर प्रहरीले मान्छेलाई घरबाट उठाएर ल्याउने कुनै कानुनमा उल्लेखै छैन’, अवस्थीले अगाडि भनेका छन्, ‘उनलाई चाहिँ राति ८ बजे उठाएर नगर प्रहरीले नगरपालिका ल्याए भन्ने छ। सरी! बिहान आठ बजे उठाएर नगरपालिकामा ल्याए भन्ने कुरा छ।’
सिसिटिभी फुटेजमा राना नगरपालिका परिसरभित्र आइरहेको समयमा उपमहानगरको एम्बुलेन्स बाहिर गएको देख्न सकिन्छ। रानालाई घरबाट उठाएर ल्याइएको जग्गा व्यवसायीका अध्यक्ष उपेन्द्र अवस्थी र जग्गा व्यवसायी प्रभातकुमार चौधरीको दाबी सत्य नभएको धनगढी उपमहानगरपालिकाले जनाएको छ। नगर प्रहरी रानालाई पक्राउ गर्न नगएको र पक्राउ गर्ने अधिकार समेत आफूहरूलाई नभएको नगर प्रहरी प्रमुख भुपेन्द्र खड्काले स्पष्ट पारेका छन्।
‘नगर प्रहरीले कुनै पनि मान्छेलाई समात्ने अधिकार नै छैन। अनि हामीले कसैलाई पनि समातेका पनि छैनौँ’, उनले भने, ‘अहिले जो अस्पतालमा हुनुहुन्छ, उहाँ आफैं मोटरसाइकलमा नगरपालिका आएको सिसिटिभीमा भिडियो देखिन्छ। हामीले त उपचारका लागि अस्पताल पुगाएका हौँ।’ रानाले नगरपालिका आएर विषादी सेवन गर्ना साथ उनलाई अस्पताल पुगाएको र बाटोमा उल्टी गर्न लगाएको नगर प्रहरीले जनाएको छ। जग्गा कारोबारीले लगाएको आरोप निराधार रहेको भिडियोले पुष्टि गरेको उपमहानगरपालिकाले जनाएको छ।