धनगढीमा विद्यालयका शिक्षकबाटै बदमासी, उत्तरपुस्तिका नै बजारमा छरपस्ट
धनगढीः कैलालीको धनगढीमा एक विद्यालयका शिक्षकले बदमासी गरेको विषय बाहिर आएको छ।
धनगढी उपमहानगरपालिका वडा नम्बर १९ मा रहेको फूलबारी माध्यामिक विद्यालयले कक्षा १२ को अर्धवार्षिक परीक्षा स्वास्थ्य विषयको विहिबार लिएको परीक्षाको उत्तरपुस्तिका सार्वजनिक हुने गरी एक किराना पसलमा छोडेको फेला परेको छ। वडा नम्बर १९ मा रेहेको विद्यालयको उत्तरपुस्तिका धनगढी उपमहानगरपालिका–५ स्थित हसनपुरमा रहेको चक्रबहादुर देउवाको पसलमा फेला परेको हो।
देउवाको पसलमा ती उत्तरपुस्तिकाहरु खोलेको अवस्थामा छरपस्ट रुपमा फेला परेका छन्। उत्तरपुस्तिकाहरु छरपस्ट रुपमा खोलिएको अवस्थामा फेला परेको फूलबारी माध्यामिक विद्यालयका माध्यामिक तह शिक्षक गौरीशंकर जोशीले स्वीकार गरेका छन्। उनले किराना पसलमा उत्तर पुस्तिकाको नन्थी गरिएको पोका छताछुल्ल पारी उत्तर पुस्तिकाहरुको फोटो नै खिचेर सार्वजनिक गरिएको उल्लेख गरेका छन्।
तर धनगढी–१९ मा रहेको विद्यालयको उत्तर पुस्तिका धनगढी–५ स्थित किराना पसलमा छोड्नु कुनै पनि हालतमा नियमसंगत नभएको भन्दै धनगढीका चक्रबहादुर बमले सरोकारवालाको ध्यानाकर्षण हुनुपर्ने बताएका छन्। बमले नै उत्तरपुस्तिका छरपस्ट अवस्थामा रहेको उल्लेख गर्दै सामाजिक सञ्जालमा पोस्ट गरेका छन्।
यता शिक्षक गौरीशंकर जोशीले भने बिहीवार स्वास्थ्य विषयको परीक्षा लिएकोमा त्यो दिन आफू विद्यालयमा अनुपस्थित रहेकाले सहकर्मी नरेन्द्रबहादुर देउवाले उत्तरपुस्तिका ल्याएर हसनपुरको पसलमा छोडेको बताएका छन्। उनले पसलमा सुरक्षित राखिएको उत्तरपुस्तिका पञ्चोदय माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चक्रबहादुर बमले खोलेर फोटो खिचेर सामाजिक सञ्जालमा पोस्ट गरेको आरोप लगाएका छन्।
बमले भने पसलमा अलपत्र छोडिएको उत्तरपुस्तिका देखेर सामाजिक सञ्जालमा राखेको दाबी गरेका छन्। बमले यो घटनामा छानविनको माग गरेका छन्। विद्यालयको उत्तरपुस्तिका पसलमा भेटिएको घटना सार्वजनिक भएसँगै धनगढी उपमहानगरपालिकाले शिक्षक गौरीशंकर जोशीलाई तीन दिनभित्र लिखित स्पष्टीकरण दिन शुक्रवार नै पत्र काटेको छ।

