धनगढीका महिलाहरु जुटे सरसफाइमा, तीन सयको संख्यामा समिति गठन
धनगढीः कैलालीको धनगढीमा अधिकांश महिलाहरु सरसफाइमा जुटेका छन्।

‘हाम्रो धनगढी हामी बनाउँछौँ’ अभियान अन्तर्गत धनगढीका अधिकांश महिलाहरु सरसफाइमा जुटेका हुन्। उपमहानगरभित्रका १९ वटै वडामा सरसफाइ अभियान जारी छ। आफ्नो टोल आफै सफा गर्न महिलाहरु सक्रिय भएर लागेको पाइएको छ। धनगढी उपमहानगरपालिका–१ देखि वडा नम्बर १९ सम्मै महिलाहरु आफ्नो गाउँघर तथा टोल सरसफाइमा जुटेका छन्।

टोल सरफाइमा पुरुषको तुलनामा महिलाको सहभागि उल्लेख्य देखिएको छ। हुन त यो अभियान विद्यालय एवं कलेजहरुमा पनि जारी छ। शिक्षकदेखि विद्यार्थीसम्मै सरसफाइ अभियानमा जोडिएका छन्। उपमहानगरले सुरु गरेको सरसफाइ अभियानले धनगढीमा मुर्तरुप लिएको छ। धनगढीमा फोहरमैला व्यवस्थापन गर्न तीन सयको संख्यामा सरसफाई समिति नै गठन गरिएको उपमहानगरपालिकाले बताएको छ।

साथै उपमहानगरपालिकाले चालु आर्थिक वर्षको सात महिनामा जथाभावी फोहर फाल्ने व्यक्ति तथा संघसंस्थाबाट तीन लाखभन्दा बढी जरिबाना असुल गरेको छ। सो अवधिसम्म जथाभावी फोहर फाल्ने तीन सयभन्दा बढी व्यक्तिलाई जरिबाना गरिएको छ। हाल ९ वटा वडाबाट नियमित फोहरमैला उठाउने काम भइरहेको छ। वडा नम्बर १ देखि ८ र १३ नम्बर वडाका घरबाट उपमहानगरले फोहर उठाउने गरेको छ।

धनगढीमा सरसफाइ सहजकर्ताले सूक्ष्म वर्गीकरण केन्द्रको कामको रेखदेख गर्ने, नगरका ३ सयभन्दा बढी सरसफाइ समितिलाई परिचालन गर्ने, सामुदायिक र निजी विद्यालयमा सरसफाइ अभियान चलाउने, बिहान, दिउँसो र राति १० बजेसम्म अनुगमन गर्ने काम सरसफाइ सहजकर्ताले गर्दै आएका छन्।

यस्तै १५ जना सामाजिक परिचालकले १९ वटै वडामा सरसफाइ अभिमुखीकरण अभियान चलाउने गरेको धनगढी उपमहानगरपालिकाका वातावरण इन्जिनियर अशोक अवस्थीले बताए। साथै धनगढीले फोहरमैला व्यवस्थापन गर्न अपनाएको अभ्यास अवलोकन गर्न एसियायी विकास बैंक तथा विभिन्न नगरपालिकाबाट अध्ययन टोली आउने गरेको इन्जिनियर अवस्थीले बताए।
