सुदूर नेपाललाई विश्वसँग जोड्दै

मेयर ओझाको कृषि मोह : वार्षिक सय क्विन्टल गहुँको मूल बिउ उत्पादन गर्दै

कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझा
कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझा
२०८० चैत्र ८, ०७:१७ नारायण अवस्थी

धनगढीः कञ्चनपुरको कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझा २०७९ मा दोस्रो प्रयासमा नगर प्रमुख भएका हुन्। २०७४ मासमेत ओझा नगर प्रमुखको उम्मेदवार थिए। कञ्चनपुर काँग्रेसको सचिव समेत रहेका ओझा जनप्रतिनिधि मात्रै नभएर किसान पनि हुन्।

ओझाको परिवारले विगत ३० वर्षदेखि गहुँको मूल बिउ उत्पादन गरिरहेको छ। यो वर्ष पनि नगर प्रमुख ओझाले पाँच बिघामा बाणगङ्गा जातको गहुँ लगाएका छन्। उनको पाँच बिघाको प्लटमा अहिले गहुँ लहलह भएको छ। नगर प्रमुख ओझाको खेतमा मूल बिउको उत्पादन राम्रो हुने अवस्था रहेको कृषि शाखा प्रमुख लालबहादुर धामीले बताए। ‘मेयर सापले आफ्नै लगानीमा गरेको गहुँको मूल बिउको उत्पादन राम्रो हुने देखिन्छ। गहुँ निकै राम्रो छ। कृष्णपुरलाई बिउमा आत्मनिर्भर बनाएर बाहिर बिक्री गर्न सकियोस् भनेर नगरपालिकाका अन्य किसानले पनि मूल बिउ उत्पादन गरिरहेका छन्,’ उनले भने, ‘मेयर सापले अनुदान लिनुभएन। तर, किसानहरूलाई बिउमा अनुदान दिएर मूल बिउ उत्पादन गर्न प्रेरित गरिरहेका छौँ।’

बाणगङ्गा जातको गहुँ लगाएको ११८ दिनभित्र काट्न मिल्छ। कृष्णपुर क्षेत्रमा नगर प्रमुख ओझासहितका अन्य किसानले लगाएको गहुँको उत्पादन राम्रो हुने देखिएको कृषि ज्ञान केन्द्र कञ्चनपुरले जनाएको छ। बाणगङ्गा जातको गहुँको प्रति बिघा २० क्विन्टल उत्पादन क्षमता रहेको कृषि ज्ञान केन्द्र प्रमुख गोविन्द सिजापतीले बताए। ‘मेयर सापको खेतमा गहुँ राम्रो भएको छ भन्ने सुनेर जिल्लाबाट हामीहरू पनि गहुँ हेर्न आएका हौँ,’ उनले भने, ‘यो मूल बिउको उत्पादन क्षमता प्रति बिघा २० क्विन्टल हुन्छ भने बजार मूल्यभन्दा १५/२० प्रतिशत बढी मूल्यमा बिउ कम्पनीले गहुँ खरिद गर्छन्। बिउ उत्पादनमा किसानलाई फाइदा छ। हामीले पनि अनुदान दिने गरेका छौँ।’

नगर प्रमुख ओझाले ३० वर्षदेखि गहुँको मूल बिउ उत्पादन गरिरहेको बताएका छन्। खेतीपातीसँगै माछापालन समेत गरिरहेका ओझाले कृषि जीवनको आधार भएकाले खेतीपाती गर्ने कामलाई पनि राजनीतिसँगै निरन्तरता दिएको बताएका छन्। कृष्णपुरको पहिचान कृषि उत्पादनसँग जोड्नु पर्ने भएर पनि कृषि पेशालाई आत्मसात् गरिरहेको नगर प्रमुख ओझाको भनाइ छ। ‘हाम्रो परिवार किसान परिवार हो। हामीले तीस वर्षदेखि गहुँको बिउ उत्पादन गरुरहेका छौँ। यो वर्ष पाँच बिघामा एक सय क्विन्टल बिउ उत्पादन हुने अनुमान गरेको छु,’ उनले भने, ‘किसान दाजुभाइहरूलाई खेतीपाती गर्न हौसला मिल्ने सोचेर पनि मैले खेतीपाती गरिरहेको छु। उत्पादनसँग हरेकले जोडिन सके आर्थिक प्रगति पनि हुन्छ।’

गहुँको मूल बिउ उत्पादन गर्न कृषि ज्ञान केन्द्र तथा नगरपालिकाले समेत किसानलाई बिउ तथा उपकरणमा अनुदान दिने गरेका छन्। तर, नगर प्रमुख ओझाले भने सरकारी अनुदान नलिएरै खेतीपाती गरिरहेको बताएका छन्। सर्वसाधारण किसानले पाउनुपर्ने अनुदानको लोभ नगरी कृषि कार्य गरिरहेको ओझाको दाबी छ। नगर प्रमुख ओझाको पाँच बिघा जग्गामा यो वर्ष एक सय क्विन्टल गहुँको मूल बिउ उत्पादन हुने भएको छ। सो मूल बिउ कम्पनीले बजार मूल्यभन्दा १५/२० प्रतिशत बढी मूल्य दिएर खरिद गर्दै आएका छन्।

 

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस