क्याप्टेन उप्रेतीको ‘भूस्वर्गको परिकल्पना सुदूरपश्चिम नेपाल’ नामक पुस्तकमाथि विमर्स
धनगढीः क्याप्टेन वेद उप्रेतीको ‘दुर्गम विस्मयलोक/भूस्वर्गको परिकल्पना सुदूरपश्चिम नेपाल’ नामक पुस्तक विमर्स कार्यक्रम सम्पन्न भएको छ।
प्राध्यापक डाक्टर हेमराज पन्त, सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह, भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवा, प्रदेश सभा सदस्य डाक्टर तारा जोशी, धनगढीका नगर प्रमुख गोपाल हमालसहितका व्यक्तिहरू उपस्थित कार्यक्रममा उक्त पुस्तकमा विमर्स गरिएको हो। धनगढीको चैतन्य पाठशालामा आयोजित कार्यक्रममा प्राध्यापक, विभिन्न क्षेत्रमा क्रियाशील व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमका बोल्दै मुख्यमन्त्री शाहले सुदूरपश्चिमलाई पर्यटनको क्षेत्रबाट अगाडि बढाउन सरकार प्रतिवद्ध रहेको बताए। उनले सुदूरपश्चिम प्रदेशका पर्यटकीय क्षेत्रलाई राष्ट्रिय तथ अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन आवश्यक रहेको चर्चा गरे। ‘पर्यटन क्षेत्रमा जति गर्न सक्नुपर्ने थियो त्यति गर्न सकिएको छैन’ उनले भने, 'पर्यटन क्षेत्रको विकास गर्न सुदूरपश्चिम सरकार प्रतिबद्ध छ।' मुख्यमन्त्री शाहले भारतीय पर्यटकलाई कुनै समस्या हुन नदिने बताएका छन्।
धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले पर्यटकहरूलाई सबै भन्दा पहिले सुरक्षा आवश्यक रहेको बताए। उनले पर्यटन प्रवर्द्धन गर्न सुरक्षाको प्रत्याभूति दिनुपर्ने कुरामा जोड दिए। उप–प्राध्यापक सिताराम भट्ट, नाटा सुदूरपश्चिम प्रदेशका अध्यक्ष पदमविक्रम सिंह, कैलाली उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष दिनेश भण्डारी, सुदूरपश्चिम प्रदेश सभा सदस्य डाक्टर तारा जोशी, प्राध्यापक डाक्टर हेमराज पन्तले पर्यटन विकासको लागि भारतीय क्षेत्रका नागरिकहरूलाई भित्र्याउने वातावरण निर्माण गर्नुपर्ने सुझाव दिए।
पुस्तकमा सुदूरपश्चिमलाई समृद्ध र प्रगतिशील क्षेत्रका रूपमा विकास गर्न सकिन्छ भन्ने सन्देश दिने तस्बिर सहितका विवरण प्रस्तुत गरिएका छन्। १२० पृष्ठको पुस्तकमा लेखक उप्रेतीले विभिन्न समयमा कैद गरेका ९४ तस्बिर समावेश छन्। पुस्तकमा सुदूरपश्चिमको भौगोलिक अवस्था विकट भए पनि आफैँमा सुन्दर रहेको चित्रण गरिएको छ।
नेपाली र अंग्रेजी दुवै भाषामा विषयवस्तुको वर्णन गरिएको यो पुस्तक बिक्रीबाट प्राप्त रकम वेद उप्रेती ट्रस्टमार्फत सुदूरपश्चिमका क्यान्सर बिरामीलाई सहयोग गरिने लेखक उप्रेतीले जानकारी दिए।
पुस्तकका लेखक वेद उप्रेतीले १० वर्ष लगाएर पुस्तक तयार गरिएको बताएका छन्। उनले तीनै तहको सरकारले सुदूरपश्चिम प्रदेशको संवृद्धि र विकासमा जुट्न आग्रह गरेका थिए।