माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ
काठमाडौँः माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन्। सुन तस्करी प्रकरणको अनुसन्धानका लागि महरालाई कपिलवस्तुको पकडीबाट प्रहरीले नियन्त्रणमा लिएको हो।
आइतबार मात्र गृहमन्त्री रवि लामिछानेले सुन तस्करी प्रकरणमा मुछिएका सबै जनामाथि अनुसन्धान प्रक्रिया अगाडि बढाउन प्रहरीलाई निर्देशन दिएका थिए। सुन तस्करीको जाँचबुझ गर्न गठित आयोगले बुझाएको प्रतिवेदनअनुसार आरोपितहरूलाई कारबाही गर्न उपप्रधान गृहमन्त्री लामिछानेले प्रहरीको सीआईबीलाई निर्देशन दिएका हुन्।
जाँचबुझ आयोगको प्रतिवेदन अध्ययन गरी तत्काल नतिजा आउने कारबाही गर्न लामिछानेले आइतवार गृह सचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र सीआईबी प्रमुख एआईजी श्याम ज्ञवालीलाई निर्देशन दिएका हुन्।
साउन २ मा ब्रेक सुमा लुकाएर ल्याइएको ६१ किलो र २०७९ पुसमा विद्युतीय चुरोट (भेप) मा ल्याइएको ९ किलो सुन तस्करीमा पूर्वसभामुख तथा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा, छोरा राहुल, पूर्वउपराष्ट्रपतिका छोरा दीपेश पुन र परराष्ट्रविज्ञ जीवन गुरुङसहित मुछिएका थिए।
पूर्वसभामुख महराका छोरा राहुललाई सीआईबीले गत भदौ १३ गते पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। सुन तस्करीमा संलग्न चिनियाँ गिरोहसँग महरा बाबुछोराको पटक–पटक टेलिफोन संवाद भएको सरकारी अनुसन्धानबाटै पुष्टि भइसकेको छ।
महरालाई यती एयरलाइन्सको विमानबाट आजै काठमाडौं ल्याइएको छ। काठमाडौँ ल्याइएसँगै उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोमा लगिँदै छ। ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले महरालाई विमानस्थलबाट गाडीमा लाजिम्पाटस्थित सिआईबीको कार्यालयमा लाँदैछन्।