सुदूर नेपाललाई विश्वसँग जोड्दै

गोदावरीको जीर्ण काठे पुलको कमालः ६० जनाले पाए कमाउने अवसर

२०८० चैत्र ४, १०:५६ नारायण अवस्थी

धनगढीः कैलालीको गोदावरी नदीको पुरानो सडक (काठे) पुल पर्यटकीय गन्तव्य बन्न थालेको छ।

घुम्न आउने र छुट्टी मनाउनेहरूको रोजाइमा पर्न थालेको पुलमा दैनिक सयौं व्यक्ति आउने गरेका छन्। गोदावरी पुल हेर्न र फोटो तथा भिडियो बनाउन कैलाली कञ्चनपुर हुँदै देशका विभिन्न स्थानबाट समेत आगन्तुक आउने गरेका छन्। शुक्रवार/शनिवार र सार्वजनिक विदाको दिन पुल हेर्न आउने आगन्तुकको भिड नै लाग्ने गरेको छ।

गोदावरी पुल हेर्न आउनेको संख्या बढेसँगै केही स्थानीयले कमाउने अवसर समेत पाएका छन्। भिडियो र फोटो खिचेर मात्रै २४ जनाले दैनिक रुपमा आम्दानी गर्दै आएका छन्। पुलको संरक्षण र सौन्दर्यीकरणमा लगानी गर्न सके गोदावरी पुल एक मनोरञ्जन र पर्यटकीय गन्तव्य बन्ने सम्भावना देखिएको छ।
पुलका कारण आत्मनिर्भर बनिन् ममता
कैलालीको गोदावरी पुरानो पुलको छेउमा विगत ८ महिनादेखि अत्तरियाकी ममता विकले पसल चलाउन थालेकी हुन्। उनले भाडामा लिएको सानो टहरोमा विभिन्न जातीय पोसाक र गरगहना राखेकी छन्। ममताले आफ्नो पसलमा राखिएका जातीय पोसाक र गरगहना पुल हेर्न आउने व्यक्तिलाई आधा घण्टाको एक सय रुपैयाँ शुल्क लिएर लगाउन दिन्छिन्। उनले पुल हेर्न आउनेलाई कपडा लगाउन दिएर दैनिक राम्रै आम्दानी हुने गरेको बताएकी छन्।

‘मैले पसल चलाउन थालेको आठ महिना भयो। हरेक दिन राम्रै आम्दानी हुन्छ’, उनले भनिन्, ‘पसलमा राखिएका विभिन्न जातजाति पोसाक र गरगहना लगाएको आधा घण्टाको एक सयका दरले शुल्क लिने गरेकी छु। सार्वजनिक विदाको दिन भ्याइनभ्याई हुन्छ।’ ममताले आफ्नो पसलमा तामाङ, मगर, नेवार, थारू, गुरुङ समुदायले  लगाउने पोसाक र गरगहना राखेकी छिन्। उनको पसलबाट पुल हेर्न आउनेहरूले तोकिएको शुल्क तिरेर कपडा लगाउने र फोटो भिडियो बनाउने गरेका छन्। गोदावरी पुलमा ममता जस्तै अन्य तीन जनाले पनि पोसाकको पसलबाट राम्रो आम्दानी गरिरहेका छन्।
२४ जना युवाले फोटो खिच्ने काम पाए
गोदावरी पुल हेर्न आउनेहरूले फोटो र भिडियो बनाउने गर्छन्। आगन्तुकहरूको आवश्यकता पूरा गर्न क्यामेरा बोकेका २४ जना युवा फोटो र भिडियो खिच्न दिनभर व्यस्त भएको देखिन्छन्। यस्तै, करिब १० जनाले किराना र नास्ता पसल चलाएका छन् भने दुई जनाले घोडचढीबाट आम्दानी गरिरहेका छन्। गोदावरी पुल हेर्न आउने व्यक्ति र समूहको फोटो र भिडियो खिचेर दैनिक तीन÷चार हजार आम्दानी हुने गरेको अत्तरियाका युवा ललित लावडले बताए। लावडले आफूजस्तै २४ जनाले पुलको कारण कमाउने अवसर पाएको बताए।
कहाँ–कहाँबाट आउँछन् पुल हेर्नेहरू
शनिवार गोदावरी पुलमा धनगढीकी प्रीति जोशी, धनगढी घर भएकी तर भारतको सुरत बस्दै आएकी पुजा खडायत र निता नागरीको समूह विभिन्न जातीय पहिरन लगाएर फोटो तथा भिडियो बनाउन व्यस्त थियो। उनीहरू जस्तै पुलमा रमाउनेको संख्या निकै धेरै थियो। पुल हेर्न विभिन्न स्थानबाट मान्छेहरू आएका थिए भने गोदावरी बगरमा पिकनिक खानेको भिड देखिन्थ्यो।

गोदावरीको पुल हेर्न र फोटो तथा भिडियो खिचाउन धनगढी, महेन्द्रनगर र कैलालीको पूर्वी क्षेत्रबाट घुम्ने समूह बनाए आगन्तुक आउने गरेका छन्। पुलमा पसल गर्दै आएकी ममता विकका अनुसार पोखरा, दाङ, सुर्खेत र देशका अन्य भागबाट दैनिक मान्छे आउने गरेका छन्। ममताले कैलाली जिल्लाको पूर्वी क्षेत्रबाट गोदावरी आउनेको संख्या बढी रहेको बताइन्।
पुललाई नगरपालिका मातहत ल्याउने प्रयास
गोदावरी नगरपालिकाले हाल सडक विभागको स्वामित्वमा रहेको पुल आफ्नो मातहत ल्याउने प्रक्रिया थालेको छ। सडक विभाग मातहत हुँदा पुलको संरक्षण र विकासमा काम गर्न समस्या भएकाले नगरपालिकाको मातहत ल्याउने प्रयास भइरहेको वडा नम्बर ४ का वडाअध्यक्ष हेमप्रकाश मल्लले बताए।

उनले वडाको बजेटबाट पुलको दायाँबायाँ जाली लगाउने काम भएको तर थप काम गर्न बजेट व्यवस्था गर्न पुल नगरपालिका मातहत ल्याउन लागिएको बताए। नगरपालिका मातहत पुल ल्याएपछि पुलको दुबैतर्फ प्रवेशद्वार, शौचालय, पिकनिक खान टहरा निर्माण तथा पुल संरक्षण र सौन्दर्यकरणको काम गर्न सहज हुने अध्यक्ष मल्लको भनाई छ।
थोरै लगानीमा पर्यटक आवागमनमा प्रभाव
पुलमा आउनेहरूको सुरक्षालाई ध्यानमा राखेर वडा कार्यालयबाट पुलको दुबैतर्फ जाली लगाउने काम भएको छ। जसले गर्दा ट्रसमा बनेको पुलमा बस्न हिड्डुल गर्दा किनारबाट खस्ने जोखिम टरेको छ। यस्तै, लायन्स क्लब धनगढीले पुलको रङ्गरोगन गरेको छ भने अत्तरिया युवा क्लब र स्थानीय पुलमा दर्जनौं राष्ट्रिय झण्डा राखेको छ। पुलको सामान्य मर्मतका लागि स्थानीय सामुदायिक वनले काठ उपलब्ध गराएको थियो। गोदावरी पुलमा घोडचढी समेत गर्न पाइन्छ।

पुलको वारपार गरेको एक सय रुपैयाँ तिरेर घोडा चढ्न पाइन्छ। पुलमा दुई जनाले घोडचडीबाट दैनिक आम्दानी गरिरहेका छन्। तर, पुल निकै जीर्ण भएकाले मर्मत सम्भार गर्न सके तथा खानेपानी, शौचालय र अन्य सुविधाको विकास गर्न सके स्थानीयले आयआर्जन गर्न पाउने र पर्यटकले थप मनोरञ्जन र सुविधा पाउने देखिन्छ।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस