सुदूर नेपाललाई विश्वसँग जोड्दै

सोमबार कर्णाली पुल र शनिबार धनगढी आउँदै गरेको ट्रकमा आगलागी

२०८० चैत्र ३, ०६:४६ खबर संवाददाता

धनगढीः सोमबार कैलाली र बर्दिया जोड्ने कर्णालीको चिसापानी पुलमा गुड्दागुड्दै गरेको ट्रकमा आगलागी भएपछि आवतजावत नै बन्द हुन पुग्यो।

No description available.

आगलागीले पुलका लठ्ठामा पनि क्षति भएपछि सवारीसाधन गुड्न बन्द गरिएको हो। वीरगन्जबाट लाइटर बोकेर कञ्चनपुर जाँदै गरेको बा.५प ५२९७ नम्बरको ट्रकमा सोमबार अपराह्न आगलागी हुँदा पुलका दुवैतिरका गरी करिब १४ लठ्ठामा क्षति पुगेको इलाका प्रहरी कार्यालय चिसापानीका इन्स्पेक्टर हरिराम डाँगीले बताए।

आगलागीबाट ट्रकमा पूर्ण रूपमा क्षति भएको छ भने त्यसमा रहेको सामान पूर्ण रूपमा नष्ट भयो। चालक र सह–चालकलाई भने सकुशल उद्धार गरियो। लाइटर बोकेको ट्रकमा लागेको आगो डेढ घण्टापछि दमकल, सुरक्षाकर्मी र स्थानीयको सहयोगमा नियन्त्रणमा आएको थियो। उक्त आगलागीबाट एक करोड १६ लाख बढीको क्षति भएको अनुमान गरिएको छ।

No description available.

यस्तै घटना आज (शनिबार) पुनः दोहोरिएको छ। कैलालीमै लाइटर, खुर्सानी, बच्चाले लगाउने प्याड र औषधि बोकेको ट्रकमा आगलागी भएको छ। वीरगञ्जबाट धनगढी आउँदै गरेको प्रदेश ३–०३–००१ ख ००१२ नम्बरको ट्रकमा आगलागी भएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र विकले बताए। लाइटरसहित खुर्सानी, औषधि र बच्चाको प्याड बोकेको उक्त ट्रकमा लाइटरकै कारण आगो लागेको प्रहरीले अनुमान गरेको छ।

No description available.

शनिबार दिउँसो ३ बजेतिर जिल्लाको बर्दगोरिया गाउँपालिका–१ मुडा बजार नजिक गुड्दागुड्दै गरेको ट्रकमा आगो लागेको हो। घोडाघोडी र लम्की–चुहा नगरपालिकाको दमकल चाँडै आउँदा आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार ट्रकको अगाडीको भाग जलेको छ। झण्डै १० प्रतिशत सामान जलेर नष्ट भएको छ। आगलागीको ठोस कारण अझै पत्ता लागेको छैन्।

कमेन्ट लोड गर्नुस