सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा पाँच जनप्रतिनिधिको पद रिक्त, कहिले हुन्छ उपनिर्वाचन?

२०८० चैत्र ३, ०२:५८ खबर संवाददाता

धनगढीः कञ्चनपुरको भीमदत्त नगरपालिका–६ का वडाध्यक्ष महेन्द्र खड्काको २०८० पुस  २६ गते मृत्यु भयो।

म १ प ४८५२ नम्बरको मोटरसाइकल चढेका खड्का मृत अवस्थामा फेला परेका थिए। उनको मृत्यु भएपछि अहिले वडा नम्बर ६ वडाअध्यक्ष विहिन छ। प्रतिनिधिसभा र प्रदेश सभाको रिक्त स्थानमा उपचुनावको मिति घोषणा गरेको आयोगले स्थानीय तहभित्रका रिक्त स्थानमा भने तत्काल उपनिर्वाचन नहुने जनाएको छ। स्थानीय तहको रिक्त स्थानमा उपनिर्वाचनको मिति आयोगको परामर्शमा सरकारले तोक्छ।

सुदूरपश्चिमका विभिन्न पालिकाभित्र उपाध्यक्षदेखि वडा अध्यक्षसम्म गरी पाँचवटा पद रिक्त छन्। बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष पद रिक्त छ। त्यस्तै डोटीको पूर्वाचौकी गाउँपालिका–६ गाँजरीका वडाध्यक्ष पुष्पराज जोशीको निधनपछि पद रिक्त छ। गत वर्ष मङ्सिरमा जोशीको निधन भएको थियो। उनी नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए।

गत जेठ २५ गते बझाङको सुर्मा गाउँपालिका–४ का वडाध्यक्ष सर्जन बोहराको निधनपछि पद रिक्त छ। उनी एमालेबाट जितेका थिए। त्यस्तै दार्चुलाको दुहुँ गाउँपालिका–५ का वडाध्यक्षको मनोरथ भट्टको पनि निधन भएर पद रिक्त छ। उनी माओवादी केन्द्रबाट निर्वाचित भएका थिए। यसका साथै कैलाली जिल्ला समन्वय समिति प्रमुख पदमबहादुर कलेलको निधन भएपछि सो पद पनि रिक्त छ।

कांग्रेसबाट निर्वाचित कलेलको २०७९ पुस २३ मा निधन भएको थियो। बझाङ प्रदेश सभा ‘१’ बाट निर्वाचित पृथ्वीबहादुर सिंहको सुदूरपश्चिम सरकारको आन्तरिक मामिला तथा कानुनमन्त्रीको हैसियतमा गृहजिल्ला जाँदै गर्दा असार ५ गते गाडी दुर्घटनामा परी निधन भएपछि यो सिट रिक्त छ। संविधानको धारा ८९ (च) र धारा १८० (च) बमोजिम स्थान रिक्त भएको जानकारी संघ र प्रदेश सचिवालयबाट प्राप्त गरेपछि निर्वाचन आयोगले सरकारको परामर्शमा उपनिर्वाचनको मिति तोकेको हो।

रिक्त भएको सांसद पदको कार्यकाल ६ महिनाभन्दा बढी अवधि बाँकी रहँदै रिक्त भएमा उपनिर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था छ। बझाङ प्रदेश ‘क’ मा कांग्रेसका पृथ्वीबहादुर सिंह १७ हजार ११२ मतसहित निर्वाचित भएका थिए। उनको सडक दुर्घटनामा निधन भएपछि उक्त सिट रिक्त भएको हो। यो सिटमा एमालेका अफिलाल ओखेडाले १३ हजार ३३६, राप्रपा नेपालका कर्णबहादुर खड्काले ४२६, राप्रपाका हरिलाल भट्टराईले ४०४ मत प्राप्त गरेका थिए। प्रदेश सभामा रास्वपाले भाग लिएको थिएन।

कमेन्ट लोड गर्नुस