कैलालीमा ठगहरुबाट उजाडिएका परिवार, जमिन हड्पेकाबाट उल्टै धाकधम्की
धनगढीः कैलालीमा ठूलो संख्यामा आर्थिक रुपमा विपन्न परिवार ठगहरुबाट उजाडिएका छन्।
आर्थिक प्रलोभनमा पारेर विपन्न परिवारको जमिन दृष्टिबन्धक राखेर गरिब परिवारको उठीबास लगाउने काम भएको हो। सोझोपनको फाइदा उठाएर मुल्यवान जमिन हड्पेकाहरु कोहि दम्पत्तिसहित फरार छन भने कोहि शक्ति र सत्ताको आडमा पीडितलाई झन पीडा दिने काम गर्दै आएका छन्। जिल्लामा एउटै व्यक्तिबाट दर्जन बढी परिवार फसेको समेत पाइएको छ। कोहि आफन्त र नजिककै व्यक्तिबाट ठगिन पुगेका छन भने कोहि साहु महाजनबाट फसेका छन्।
कैलालीको भजनी नगरपालिका–६ नवलपुरका ७० वर्षीय शिवनारायण डगौरा र धनगढी उपमहानगरपालिका–१९ की सुक्नीदेवी चौधरीको जग्गा जालसाजी गरेर अर्कैको नाममा गएको फेला परेको छ। भजनी नगरपालिका–६ नवलपुरकै भागीरामको जग्गा पनि जालसाजी गरेर अर्कैको नाममा दर्ता भएर बैँक मार्फत लिलाम भएर तेस्रो व्यक्तिको नाममा दर्ता भएको छ। भजनी–६ नवलपुरका शिवनारायण डगौरालाई उनका साक्खै साला फट्टुराम चौधरीले फसाएको खुलेको छ।
नवलपुर गाउँमै बस्ने फट्टुरामले आफ्ना भिनाजु शिवनारायणलाई एक लाखको बदला दुई लाख दिलाइदिने भन्दै ठगेको उनको आरोप छ। शिवनारायण डगौराको भजनी नगरपालिका–६ को कित्ता नम्बर ९४६ को जग्गा २०७३ सालमा झुक्याएर हत्याउने काम भएको छ। मालपोत कार्यालय, टीकापुरमा गरिएको लिखित राजीनामा पत्रमा २४ लाख मूल्य तिरेर जग्गा पास गरिएको विवरण उल्लेख छ।
फट्टुराम र पूर्णबहादुर विकले मालपोत कार्यालयमा कागज हेर्न पनि नदिएर सही छाप गर्न लगाएको पीडितको गुनासो छ। शिवनारायणले पूर्णबहादुरबाट ३ लाख ५० हजार रुपैयाँ लिएर आफ्नो नाममा रहेको ८ कट्ठा जग्गा पूर्णबहादुरको नाममा राजीनामा पास गरेको खुलेको छ। शिवनारायण अहिले जग्गा सम्बन्धी र लेनदेनका कागज समातेर भौतारिएका छन्।
यता धनगढी उपमहानगरपालिका–१९ घर भएकी दुर्गादेवी चौधरी र उनका पति खडकबहादुर चौधरीको पनि फूलबारी चक्रपथसँग जोडिएको साँढे १३ कट्ठा जग्गा बैंकमा धितो राखिएको थाहा पाएपछि हैरान छन्। चौधरी दम्पतीको जग्गा सुरूमा ज्योति विकास बैंकमा राखिएको थियो। सो जमिन हाल एनआइसी एसिया बैंकमा राखिएको छ।
दुर्गादेवीलाई आफ्नो पति खडबहादुरको नामको जग्गा प्रेमबहादुर बडायक हुँदै धनगढी उपमहानगरपालिका–२ का नवीन प्रकाश मल्लकी श्रीमती अरुणाकुमारी सिंहको नाममा नामसारी भएको र अरुणाले बैंकमा राखेर ऋण लिएको विषय अहिले आएर खुलेको छ। प्रेम बडायकले दुई लाख रुपैयाँ दिएर जग्गा रोक्का गर्ने भन्दै चौधरी दम्पतीलाई झुक्याएर मालपोतबाट आफ्नो नाममा जग्गा नामसारी गरेको र फेरि नवीनप्रकाश मल्लको श्रीमती अरुणाकुमारी सिंहको नाममा जग्गा पास गरेको समेत खुलेको छ।
प्रेम बडायको फन्दामा परेपछि चौधरी दम्पती यतिबेला विचल्लीमा परेको छ। उता गौरीगंगा नगरपालिका–१ मङ्गलपुरका अनिल रावतको पनि बिचल्ली भएको छ। डोटीको निरौलीका लिलाधर जोशीले १० लाख रुपैयाँ ऋण दिने भन्दै अनिल, उनकी आमा नन्दा र भाइ भरत रावतको संयुक्त नाममा रहेको ८ कट्ठा जग्गा दृष्टिबन्धकी गरेपछि ती परिवार विचल्लीमा परेका छन्। जिल्ला अदालत, कैलालीमा छलफलका लागि भन्दै मुद्दा दर्ता गरेका जोशी परिवारले जग्गा बिक्री गरेको खुलेको छ।
उनीहरूले शिव पोखरेललाई जग्गा बिक्री गरेका हुन्। शिव पोखरेलसहितका चार जना मङ्गलपुर गएका थिए। अनिलकी आमा नन्दाले जग्गा खरिद नगर्न भनेकी थिइन्। तर, शिव पोख्रेलले जग्गा खरिद गरेको पाइएको छ। मङ्गलपुर क्षेत्रमा रहेको जग्गाको अहिलेको मूल्य २५ लाखसम्म प्रतिकट्टाको छ। तर, लिलाधर जोशीले १० लाख ऋण दिएर ८ कट्टा जग्गा हडपेको पीडित परिवारको गुनासो छ। कैलालीमा एक एकल महिलाको पनि घरखेत गुम्दैछ।
जिल्लाको भजनी नगरपालिका–१ कुडीकी लक्ष्मी बमको पुरै घरखेत गुम्न लागेको हो। १० लाख दिने भन्दै १० कट्टा जमिन हड्पेका धनगढी उपमहानगरपालिका–१ का नयम अहमतकी श्रीमती ४१ वर्षीया साहजान खातुनसहित दुबै श्रीमान÷श्रीमती सम्पर्कविहिन भएपछि जग्गाधनी लक्ष्मीको घरखेत लिलाम गर्न ज्योति विकास बैंकले पूष महिनामै ३५ दिने सूचना जारी गरिसकेको छ।
२०७७ असोज २५ गते खातुनले १० लाख दिने भन्दै लक्ष्मीका श्रीमान यज्ञ बमबाट साविक खैलाड गाविस वडा नम्बर ४ को कित्ता नम्बर ५७२ को ०–१०–० जग्गा खातुनको नाममा नामसारी गरेको कागज गरिएको छ। तर लक्ष्मीका श्रीमानको दुई वर्षअघि निधन भएपछि यतिबेला लक्ष्मी झन विचल्लीमा परेकी छन्। लक्ष्मीको १० कट्टा जमिन आफ्नो नाममा पास गरेर लक्ष्मीका श्रीमानलाई १० लाख दिने र पाँच वर्षपछि जमिन फिर्ता गर्ने गरी पास बन्धक बनेको छ। यस्तो सम्झौता भएको पाँच वर्ष पुग्न अझै दुई वर्ष बाँकी छ। तर सो लालपुर्जा राखेर बैंकबाट ऋण लिएका खातुनले २०७७ सालदेखि ब्याज रकम बैंकलाई नबुझाएपछि सो जमिन बैंकको लिलामीमा परेको छ।