कृष्णपुरमा सडकको काम धमाधम हुँदै, तीन वर्षभित्र सबै पानीपिच भइसक्ने दाबी
धनगढीः कञ्चनपुरको कृष्णपुर नगरपालिकाले आगामी तीन वर्षभित्र नगरपालिका भित्रका सबै सडकहरूको स्तरोन्नति गर्ने लक्ष्य लिएको छ।
चालु आर्थिक वर्षमा ४५ किलोमिटर सडक स्तरोन्नति गरेर सडक निर्माणको काम थालिने भएको छ। नगरपालिकाले आफ्नै उपकरण प्रयोग गरेर ९ वटै वडाका धुलाम्मे र पानी पर्दा हिलाम्मे हुने सडकहरूमा वाटर बन्ड मेकाडम अर्थात् पानीपिच गर्न थालेको छ। नगरपालिकाले सोझै निर्माण सामग्रीको रोयल्टी तिरेर सडक स्तरोन्नतिको काम गर्न लागेको हो। सडक स्तरोन्नतिको काम आर्थिक वर्षको सुरुमै वडा नम्बर १ बाट गर्न थालिएको थियो।
वडा नम्बर १ मा यो वर्ष करिब १० किलोमिटर सडक स्तरोन्नति गरिएको नगर प्रमुख हेमराज ओझाले बताए। उनले त्यसपछि अहिले वडा नम्बर ९ को सडकको काम सकेर वडा नम्बर ८ मा काम भइरहेको बताए। यो आर्थिक वर्षमा नगरपालिकाका ९ वटै वडामा ४५ किलोमिटर सडक पानीपिच गर्न डेढ करोड बजेट विनियोजन गरिएको उनले बताए।
उनले ठेक्का र उपभोक्ता मार्फत काम गर्दा बजेट अनुसारको काम नहुने भएपछि कार्यविधि बनाएर नगरपालिकाले आफ्नै टिपर, लोडर र रोलर प्रयोग गरेर सडक स्तरोन्नति गर्ने निर्णय भएको बताए। ‘ठेक्का या उपभोक्ता समिति मार्फत काम गर्दा बजेटको दुरुपयोग हुन थालेपछि नगरपालिकाले आफैले निर्माण सामग्रीको रोयल्टी तिर्ने र नगरपालिकाकै औजार उपकरण प्रयोग गर्ने निर्णय भएको हो’, उनले भने, ‘यसरी काम गर्दा कम बजेटमा पनि बढी काम हुने देखिएको छ।
कार्यविधि बनाएर काम गर्न थालिएको हो।’ नगर प्रमुख ओझाले ठूलो भूगोल भएको कृष्णपुरमा नगरको थोरै बजेटले सडक कालोपत्र गर्न धेरै वर्ष लाग्ने भएकाले आफ्नो कार्यकालको बाँकी अवधिमा सम्पूर्ण सडक स्तरोउन्नति हुने दाबी गरे। नगर क्षेत्रका ग्रामीण सडकहरू वर्षौसम्म पनि कालोपत्र नहुने देखिएकाले नगरबासीलाई सडक प्रयोग गर्न सहज होस् भनेर क्रमशः पानीपिच गर्दै जाने योजना बनाइएको उनको दाबी छ।
नगरपालिकाले सडक कालोपत्र गर्न पनि चालु आर्थिक वर्षमा प्रत्येक वडामा ४०/४० लाखका दरले बजेट विनियोजन गरेको जनाएको छ। सार्वजनिक सेवा तथा क्षमता विकास समितिका संयोजक एवं वडा नम्बर ९ का अध्यक्ष कैलाशबहादुर बलायरले कामको अनुगमन र रेखदेख गर्न प्राविधिक खटाएको बताए। उनले सडक पानीपिच अभियानसँगै सडकको चौडाइ पनि विस्तार गरिरहेको दाबी गरे।
यस्तै, वडा नम्बर ८ का अध्यक्ष दिनेश खड्काले यसपटक पनि गुणस्तरीय काम हुन्न कि भनेर स्थानीय चिन्तित भए पनि नगरपालिकाको स्रोतसाधनले भ्याएसम्म गरेको काम देख्दा स्थानीय सन्तुष्ट रहेको दाबी गरे। कृष्णपुर नगरपालिकाकी उप्रमुख द्रोपती रानाले उपभोक्ता समिति मार्फत हुने काम र नगरपालिकाको स्रोतसाधन प्रयोग गरी भइरहेको सडकको स्तरोन्नतिमा आकास जमिनको फरक रहेको बताइन्।
उनले आफूहरु प्रत्यक्ष फिल्डमै गएर अनुगमन गरिरहेको र विगतको भन्दा राम्रो काम भइरहेको दाबी गरिन्। कृष्णपुर नगरपालिका वडा नम्बर ८ का स्थानीय भक्तबहादुर चौधरीले यसअघि आधाभन्दा बढी पैंसा उपभोक्ताले कुम्ल्याउने र काम धेरै कम हुने गरेको बताए। उनले अहिले बजेटअनुसारको काम भएको देख्दा खुशी लागेको बताए। नगर क्षेत्रका सडकहरू स्तरोन्नति गर्न नगरपालिकाले निर्माण कार्यमा प्रयोग हुने मसिन समेत खरिद गरेको छ। सडक स्तरोन्नति तथा मर्मत गर्न एक/एक ग्रेडर र लोडर, दुईवटा एक्स्काभेटर, २ वटा टिप्पर र २ वटा ट्याक्टर र दुईवटा पानी ट्याङ्की खरिद गरेको छ।