सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको धनगढीमा यसरी हुँदैछ विद्यालय सुधारको काम

२०८० फाल्गुन २७, ०३:५५ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीमा विद्यालय सुधारको काम जारी छ।

धनगढी उपमहानगरपालिकामा पाँचवटा नमूना विद्यालय बनाउने काम सुरु भएको छ। ग्रामिण क्षेत्र लक्षित गरेर उपमहानगरपालिकाले चन्द्रोदय माध्यमिक विद्यालय फूलबारी, बेहडाबाबा माध्यमिक विद्यालय घँसीटा, सिद्धनाथ माध्यमिक विद्यालय जुगेडा, ठेकेराज माध्यमिक विद्यालय घोडसुवा र भवानी माध्यमिक विद्यालय गौरीपुरलाई नमूना विद्यालयका लागि छनोट गरिसकेको छ।

साथै विद्यालयमा स्मार्ट बोर्ड लगाउन ८३ लाखमा ठेक्का समेत भइसकेको छ। नमूना स्कुलमा आउँदो वर्षदेखि अंग्रेजी माध्यामबाट पढाइ हुनेछ। शिक्षक र शैक्षिक सामग्री अभाव हुने छैन। प्लेस्टेसन हुनेछ। प्ले स्टेसन बनाउन टेण्डरको आह्वान भइसकेको छ। नमूनाका लागि छनोट भएका पाँचवटै विद्यालयमा ब्ल्याक बोर्ड र ह्वाइट बोर्डको सट्टा स्मार्ट बोर्ड जडान हुँदैछन्। दुईवटा विद्यालयमा जडानको काम भइसकेको छ।

बाँकीमा जडान गर्ने तयारी भइरहेको उपमहानगरपालिकाले जनाएको छ। शिक्षा तथा मानवस्रोत विकास केन्द्र र पाठ्यक्रम विकास केन्द्रको वेइवसाइटमा रहेको सिकाई पोर्टलका आधारमा नमुना विद्यालयमा पठनपाठन हुनेछ। उक्त पोर्टलमा बालविकासदेखि कक्षा १२ सम्मका सम्पूर्ण विषयहरू अडियो, भिडियो र एनीमेसन छन्।

नमूना छनोट भएका विद्यालयको पढाइ सुधार्न उपमहानगरपालिकाले टिच फर नेपाल, आइडीआई, कारखाना समूह र काठमाण्डौ विश्वविद्यालयसँग सहकार्य पनि गर्ने भएको छ।  यी सबै संस्थाले नमुना विद्यालयमा शिक्षण सिकाईसँग सम्बन्धित सहयोग, शिक्षकलाई तालिम दिने र विद्यार्थीलाई पनि सहयोग गर्नेछन्। यस्तै शिक्षकको उपस्थिति कक्षा कोठामा कम हुने पाइएकाले विद्यालयमा ई–हाजिरी व्यवस्थापन हुनेछ।

नेपाल सरकारको सफ्टवयर प्रयोग गरेर उपमहानगरपालिकामा कन्ट्रोल रहने गरी हाजिरी गर्ने प्रविधि जडान गर्ने काम सुरु भएको छ। अर्को वर्षदेखि कुन स्कुलमा कुन शिक्षकको उपस्थिती कति छ भन्ने पत्ता लाग्छ। उपस्थितिको आधारमा कार्यक्षमता मुल्यांकन तलब आदिमा फरक पर्नेछ। उपमहानगरपालिकाले नतिजाका आधारमा विद्यालयका प्रधानाध्यपक, शिक्षकहरूलाई पुरस्कृत र सम्मान गर्ने योजना बनाउदै छ।

शिक्षकहरूलाई प्रेरित गरेर मनोवल बढाउने उदेश्यले यो काम गर्ने तयारी गरिएको उपमहानगरले जनाएको छ। पुरस्कृत र सम्मान मासिक, अर्धवार्षिक वा वार्षिकरूमा गर्ने भन्नेमा छलफल चलिरहेको छ। विद्यालयमा नियमित अनुगमनको संन्यन्त्र बनाउने र त्यसले मासिक रिपोर्ट बनाएर उपमहानगरपालिकालाई बुझाउने सोही रिपोर्टको आधारमा शैक्षिक सुधारका काम गर्ने तय भएको छ। यस्तै उत्कृष्ट, मध्यम, कमजोर र अतिकमजोर लगायतका विद्यार्थीहरूको समुह बनाउने र सोही अनुसार कुन विद्यार्थीलाई के सहयोग आवश्यकता त्यो उपलव्ध गराउने लक्ष्य लिइएको उपमहानगरले जनाएको छ।

कमेन्ट लोड गर्नुस