धनगढीमा मनऋषिका जनयुद्धकालीन डायरीमाथि संवाद
धनगढीः पत्रकार, साहित्यकार मनऋषि धितालद्वारा लिखित तथा संग्रहित जनयुद्धकालीन डायरीमाथि धनगढीमा संवाद कार्यक्रम भएको छ।
जनयुद्धका समयमा आफूको भोगेका, अनुभूति गरेका विषय समेटेर सातवटा डायरी एकैपटक प्रकाशनमा ल्याएका धितालले साहित्यकार, पाठक, पत्रकार, बुद्धिजीवीलगायत सरोकारवालासँग आफ्ना कृतिबारे साक्षात्कार गरेका हुन्। पत्रकारका रूपमा जनयुद्धमा प्रत्यक्ष संलग्न भएर युद्धका क्रममा आफ्ना अनुभूति, घटना तथा सामाजिक–राजनीतिक उतारचढाव र परिस्थितिलाई पुस्तकमा समेटिएको उनले बताए।
धितालले जेलयात्रा, बेनीयात्रा, आधारयात्रा, राजमार्गयात्रा पिलीयात्रा र गण्डकयात्रा पुस्तक प्रकाशन गरेका छन्। त्यस्तै, त्यतिवेला आफूहरूले आदानप्रदान गरेका चिठ्ठीहरू समेटेर गुफा प्रेसका चिठ्ठी प्रकाशित गरेका छन्। जनयुद्धका क्रममा आफूले डायरीमा संग्रहित गरेर राखेका अनुभव, अनुभूतिलाई जस्ताको त्यस्तै पुस्तकका रूपमा प्रकाशन गरिएको उनले बताए। जनयुद्धको समय र त्यसवेलाको वास्तविकता देखाउन खोजिएको उनले बताए।
कार्यक्रममा पुस्तकबारे टीप्पणी गर्दै पत्रकार तुला अधिकारीले पुस्तकमा समावेश युद्धकालका सन्दर्भ अत्यन्त पठनीय रहेको बताए। मिसनमा रहेका एउटा पत्रकारले गर्नुपरेको संघर्ष, जेलमा रहँदा जेलजीवनभित्रका कुराहरू यी पुस्तकमा मन छुने ढंगले प्रस्तुत गरिएका उनले बताए। पुस्तकका सम्पादक राजकुमार कुँवरले जेलयात्रामा नेपाली प्रेसले जनयुद्धमा भोग्नुपरेको संकटबारे उल्लेख रहेको बताए।
धितालका पुस्तकमा आफ्ना पुस्तकमा राजनीतिक र प्रेस स्वतन्त्रताको आन्दोलन तथा जनयुद्धलाई यथार्थ रूपमा प्रस्तुत गरिएको कुँवरले बताए। संविधानसभा सदस्य हरि श्रीपाइलीले जनयुद्धकालीन डायरी भावी पुस्ता तथा अनुसन्धानकर्ता, अध्येताहरूलाई माओवादी जनयुद्धकालको अध्ययन, विश्लेषण गर्ने बलियो सन्दर्भ सामग्री हुने विश्वास व्यक्त गरे। उनले युद्धको इतिहासबाट उदाएका पात्रहरू अहिले सत्तामा पुगेको वेला जनताका पक्षमा के गरिरहेका छन् भन्ने महत्वपूर्ण सवाल भएको बताए।