सुदूरपश्चिम विश्वविद्यालयमा उपकुलपति रिक्त
धनगढीः सुदूरपश्चिम विश्वविद्यालयमा उपकुलपति पद रिक्त भएको छ।
रिक्त पदमा समयमै पूर्णता दिन नसक्दा कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वविद्यालयमा निमित्त उपकुलपति नियुक्त गरेका छन्। दैनिक कार्य सञ्चालन गर्न भन्दै निमित्त उपकुलपति तोकिएको छ। सुदूरपश्चिममा कर्णबहादुर थापालाई उपकुलपतिको जिम्मेवारी दिइएको हो।
थापा कानुन संकायका डिन हुन्। विश्वविद्यालय ऐनअनुसार उपकुलपति रिक्त रहेमा बढीमा ३ महिनासम्म निमित्तको जिम्मेवारी दिन सक्ने व्यवस्था छ। विश्वविद्यालयमा उपकुलपतिको कार्यकाल सकिनुअघि नै नयाँ नियुक्तिको प्रक्रिया अघि बढाइएको थियो। यद्यपि नियुक्ति हुन सकेको छैन्। सुदूरपश्चिममा उपकुलपति अम्मराज जोशीको कार्यकाल फागुन तेस्रो साताबाट सकिएको छ।
सुदूरपश्चिम विश्वविद्यालयमा प्राध्यापकबाट दरखास्त माग गरेर प्रतिस्पर्धाका आधारमा उपकुलपति छनोट तथा नियुक्ति गर्ने व्यवस्थाको थालनी गरिएको थियो। तर विश्वविद्यालयका लागि गठित समितिले भने उपकुलपति छनोट र नियुक्तिको प्रक्रिया स्थगित गरेको छ। उपकुलपति बन्न केही आवेदन परिसकेपछि प्रक्रिया स्थगित गरिएको हो।
कार्यविधिअनुसार मूल्यांकन गरेर उपकुलपति चयन र नियुक्ति गर्ने प्रक्रियामा विश्वविद्यालयका प्राध्यापकले समेत असन्तुष्टि जनाएका छन्। आवेदन माग गर्दा योग्य, क्षमतावान् र सक्षमले दरखास्त दिन नजाने भन्दै शिक्षाविद्हरूले पनि असन्तुष्टि जनाएका छन्। सुदूरपश्चिममा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष देवराज अधिकारी, शिक्षा सचिव अधिकारी र योजना आयोगका सदस्य पौडेल रहेको समिति बनेको छ।