सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा प्रमुख प्रशासकीय अधिकृतमाथि आक्रमण, जोगिए हाम फालेर

२०८० फाल्गुन २५, ०२:१३ खबर संवाददाता

धनगढीः दार्चुलामा एक प्रमुख प्रशासकीय अधिकृतमाथि आक्रमण भएको छ।

जिल्लाको मार्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोशन अधिकारीमाथि आक्रमण भएको हो। उनी सुतिरहेको बेला अज्ञात समूहले आक्रमण गरेको हो। जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार अधिकारी सुतिरहेको अवस्थामा विहिबार राति अज्ञात समूहले ढुंगामुढा र आगजनी गरेको छ।

प्रमुख प्रशासकीय अधिकृत अधिकारी सुतिरहेको सरकारी आवासमा राति करिब १ः४५ बजेको समयमा ढुंगा प्रहार गरेको र आगो लगाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी गोविन्द भण्डारीले बताए। प्रमुख प्रशासकीय अधिकृत सुतिरहेको अवस्थामा झ्यालबाट ढुंगामुढा भएर आगजनी गरेको विवरण आएको उनले बताए।

प्रमुख प्रशासकीय अधिकृतको आवास र इलाका प्रहरी कार्यालय आसपासमा हुँदा पनि कसले त्यस्तो गरेको हो भन्ने खुलेको छैन। प्रमुख प्रशासकीय अधिकृत अधिकारी झ्यालबाट हाम फालेर प्रहरीकोमा पुगेका थिए। त्यसपछि प्रहरीले आगो नियन्त्रणमा लिएको थियो। घटनामा को संलग्न छन् भन्ने खुलिसकेको छैन। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी भण्डारीले घटनाको कारण यकिन भइनसकेको बताए।

घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट पनि प्रहरी टोली मार्मा पुगेको छ। प्रमुख प्रशासकीय अधिकृत अधिकारीले मार्मा गाउँपालिकामा सञ्चालमा रहेका अवैध क्रसर रोक्न र सार्वजनिक स्थानमा मदिरा बिक्री रोक्न सूचना जारी गरेका थिए। मार्मा गाउँपालिकामा राजश्व नतिरी सञ्चालनमा रहेका दुईवटा क्रसरलाई राजश्वको दायराभित्र आउन पत्र काट्दा पनि नमानेपछि बन्द गर्न सूचना जारी गरिएको थियो।

त्यस्तै, सार्वजनिक स्थानमा मदिरा बिक्रीवितरण रोक्न पनि सूचना जारी भएकै राति प्रमुख प्रशासकीय अधिकृतमाथि आक्रमण भएको हो। मार्मा गाउँपालिकाका अध्यक्ष जमनसिंह धामी काठमाडौंमा रहेको बेला यस्तो घटना भएको हो। तर घटनामा संलग्नहरुको खोजी र आवश्यक अनुसन्धान गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

कमेन्ट लोड गर्नुस