सुदूर नेपाललाई विश्वसँग जोड्दै

गर्वसाथ छाती फुलाएर बिदाइ हुने अवसर मिल्योः निवर्तमान मन्त्री शाही

२०८० फाल्गुन २४, १०:४७ खबर संवाददाता

धनगढी: सुदूरपश्चिमका आर्थिक मामिला मन्त्री नरेशकुमार शाही मन्त्रालयबाट विदा भएका छन् । नेकपा समाजवादी प्रदेश संसदीय दलको निर्णय पश्चात् मन्त्री शाहीले राजीनामा दिएका हुन्।

मन्त्रालय छोड्दै गर्दा शाहीले पत्रकार सम्मेलन गर्दै १४ महिना काम गर्ने अवसर पाउँदा मन्त्रालयको तर्फबाट नीति निर्माण र काममा सुधार ल्याएको दाबी गरेका छन्। उनले १४ महिना सरकारमा बसेर काम गर्ने अवसर प्राप्त भएकोमा आफ्ना मतदाता लगायत सबै पक्षप्रति आभार व्यक्त गरेका छन्। शाही गत वर्षको माघ २७ गते आर्थिक मामिला मन्त्रीमा नियुक्त भएका थिए। उनले चालु आर्थिक वर्षको बजेट ल्याउने अवसर पनि प्राप्त गरेका हुन्।

एकीकृत समाजवादी पार्टीबाट आर्थिक मामिला मन्त्रीको जिम्मेवारी सम्हालेका उनले करिब १४ महिनामा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको बताएका छन्। बजेट ल्याउँदा अनुत्पादक क्षेत्रको बजेटलाई निरुत्साहित गरेको शाहीले बताए। यस्तै घाटा बजेट ल्याउने, स-साना योजनामा बजेट छर्ने जस्ता अभ्यास रोकेको शाहीले बताएका छन्। प्रदेशको आर्थिक वृद्धिदर, सुशासन र नतिजामुखी बजेट परिचालनको दिशामा काम गर्न सकेको शाहीले बताएका छन्।

निवर्तमान मन्त्री शाहीले आफ्नो कार्यकालमा १५ वटा ऐन र नियमावली बनेको र बजेट निर्माणमा नयाँ आयाम थप्ने काम भएको बताएका छन्। सुदूरपश्चिम सरकारमा जसरी आएको थिए त्यसरी नै फर्किने वातावरण बनेको मन्त्री शाहीले बताएका छन्। उनले आफूले पाएको जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गरेको र सरकारबाट बाहिरिदा छाती फुलाएर गर्वका साथ बिदाइ हुने अवसर मिलेको बताएका छन्।

कमेन्ट लोड गर्नुस