धनगढीको एरिष्टो स्कुलको वार्षिकोत्सवमा दुई दर्जन व्यक्ति सम्मानित
धनगढी: धनगढी उपमहानगरपालिका वडा नम्बर ८ स्थित क्याम्पस चोकमा रहेको एरिष्टो माध्यमिक विद्यालयको वार्षिकोत्सवमा दुई दर्जन व्यक्तिलाई सम्मान गरिएको छ। बिहीवार सम्पन्न ३१ औं वार्षिकोत्सवमा पूर्वशिक्षकदेखि पूर्व विद्यार्थी र परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई सम्मान गरिएको हो।
प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारी प्रमुख अतिथि रहेको कार्यक्रममा सामाजिक क्षेत्रमा योगदान गरेको भन्दै दृष्टि फाउन्डेसनकी अध्यक्ष कल्पना भट्ट र सुदूरपश्चिममा अहिलेसम्म सबैभन्दा बढी १०४ पटक रक्तदान गरेको भन्दै दीपक उपाध्यायलाई सम्मान गरिएको हो।
विद्यालयले २०७९ को एसइई परीक्षामा प्रदेशभर सबैभन्दा बढी जिपिए ल्याउने ग्यालेक्सी स्कुलकी नितु बिष्टलाई पनि सम्मान गरिएको छ। बिष्टले ४ जिपिए ग्रेड हासिल गरेकी थिइन्। यो पटक विद्यालयले पाँच जना पूर्व विद्यार्थीलाई सम्मान गरेको छ। पूर्व विद्यार्थी डाक्टर नवीन ढुङ्गाना, डाक्टर रुपेश भण्डारी, डाक्टर सर्मिला सिंह, डाक्टर विजय कार्की र एडिना शर्मालाई पनि सम्मान गरिएको छ।
वार्षिकोत्सवको अवसरमा पूर्व शिक्षक भरतबहादुर चन्दलाई सम्मान गरिएको छ भने वर्षको उत्कृष्ट शिक्षकको रुपमा सुजन न्यौपाने, मधु क्षेत्री, रजनिश दिक्षित र दर्शन थापालाई सम्मान गरिएको छ। विद्यालय व्यवस्थापन र सञ्चालनमा उत्कृष्ट काम गरेको भन्दै विद्यालयकी संयोजक योगमाया कुँवर र माध्यमिक तह संयोजक दीर्घबहादुर भण्डारीलाई समेत सम्मान गरिएको हो।
यो वर्ष २०७६ यताका एसइई टपर विद्यार्थीहरूलाई पनि सम्मान गरिएको छ। विद्यालयले पूर्व विद्यार्थी सुन्दर कार्की, पवन जोशी, आयुश जोशी, नेहा गुप्ता, युनिक भण्डारी र पुष्प उपाध्यायलाई सम्मान गरेको हो। यस्तै, विद्यालय कर्मचारीका रुपमा यो वर्ष उत्कृष्ट काम गरेको भन्दै महेश बोहरा, कल्पना चौधरी र मिना चौधरीलाई पनि सम्मान गरिएको छ।
वार्षिकोत्सवको अवसरमा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक प्रस्तुति देखाएका थिए। कार्यक्रममा विभिन्न विद्यालयका प्रधानाध्यापक, संस्थापक र विद्यालयका अभिभावकहरूको उपस्थिति रहेको थियो।