सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका सरसफाइ सहजकर्तामाथि प्रहरी हवलदार कार्कीले गरे हातपात

२०८० फाल्गुन २४, ०७:०५ खबर संवाददाता

धनगढीः धनगढी उपमहानगरपालिकाका सरसफाइ सहजकर्तामाथि हातपात र दुर्व्यवहार भएको छ। धनगढी–४ उत्तरबेहडीमा डेरा गरी बस्ने नेपाल प्रहरीका हवल्दार मीनबहादुर कार्कीले हातपात र दुर्व्यवहार गरेका हुन्।

धनगढी–४ एनसेल टावर नजिक रहेको आदर्श सेवा समाजको उत्तरतर्फको खाली जग्गामा फोहर फाल्ने गरेको गुनासो स्थानीयले गर्दै आएका थिए। स्थानीयले निरन्तर गुनासो गरेपछि धनगढी उपमहानगरपालिकाको सरसफाइ सहजकर्ताको टोली उक्त स्थानमा पुगेर फालिएका फोहोरमैलाबाट प्रमाण खोज्दा कार्कीले फोहर फालेको प्रमाण फेला परेको थियो।

फोहरको पोकाहरू खोतल्दै जाँदा नेपाल प्रहरी स्कुल धनगढीमा कार्यरत प्रहरी हवलदार मीनबहादुर कार्कीको परिवारले फोहर फाल्ने गरेको तथ्य पत्ता लाग्यो। सरसफाइ सहजकर्ता कार्की बस्ने घर पत्ता लगाएर सम्झाउन जाँदा उनले हवल्दार कार्कीले फोनमै गालीगलौज गरेका थिए।

शुक्रवार जरिबाना गर्न नगरपालिकाको टोली कार्की डेरा गरी बस्ने घरम पुग्दा कार्कीले सर्वप्रथम आफू स–परिवार पहाड जान लागेको बताएक थिए। कार्की पहाड गए–नगएको यकिन गर्न कमाल ढाँट र सुरेन्द्र शाहको टोली घरमा पुग्दा, कार्की एक्कासि चार–पाँच जनाको समूहमा आएर तथानाम गाली गर्न थालेको ढाँट र शाहले बताएका छन्। गालीगलौजसँगै हवलदार कार्कीले नगरपालिकाका सरसफाइ सहजकर्ता माथि हातपात समेत गरेको भिडियोमा देख्न सकिन्छ।

हवलदार कार्कीले भिडियो बनाएको भन्दै मोबाइल खोसेर फुटाउन खोजेका थिए। उत्तरबेहडी आदर्श सेवा समाजको उत्तरतर्फको खाली जमिनमा कार्की फोहर फालेको प्रमाण भेटिएको थियो। प्रमाणका आधारमा धनगढी उपमहानगरपालिकाको फोहोरमैला व्यवस्थापन ऐन, २०७४ अनुसार जरिबाना गर्न जाँदा कार्कीले गल्ती स्वीकार गर्नुको सट्‍टा कर्मचारीलाई हातपात र दुर्व्यवहार गरेका बताइएको छ।

यता, कार्कीले भने उपमहानगरपालिकाका सरसफाइ सहजकर्ताको श्रीमतीसँग विवाद रहेको बताएका छन्। उनले बिहिवार तीन हजार जरिबाना समेत तिरेको बताए। उनले भने, ‘श्रीमतीसँगको विवाद हो। म पनि स्टाफ हो। कानुन कार्यान्वयन गर्ने कर्मचारी हो। मैले दुर्व्यवहार गरेको होइन। उहाँहरू भिडिओ बनाउदै हुनुहुन्थ्यो, फोन थुतेको भने हो।’ धनगढी उपमहानगरपालिकाका सरसफाइ सहजकर्ताहरूले श्रीमतीलाई फोनमा थर्काएको आरोप कार्कीको छ।

 

 

 

कमेन्ट लोड गर्नुस