सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा पनि बदलिँदै छ सत्तासमीकरण, मुख्यमन्त्रीमा आ–आफ्नै दाबी

२०८० फाल्गुन २२, ०१:२५ खबर संवाददाता

धनगढीः सत्ता गठबन्धनबाट कांग्रेस बाहिरपछि सुदूरपश्चिम प्रदेशमा पनि नयाँ सिराबाट सरकार गठन हुने भएको छ।

सुदूरपश्चिममा नागरिक उन्मुक्तिले जता समर्थन ग¥यो, उतै सरकार बन्ने अवस्था फेरी एक पटक सिर्जना भएको छ। त्यही भएर अध्यक्ष रेशम चौधरीले सोमबार नै प्रधामन्त्री प्रचण्डलाई भेटेर ‘गठबन्धनप्रति सकारात्मक रहेको तर सुदूरपश्चिममा मुख्यमन्त्री दिनुपर्ने’ सन्देश सुनाएका छन्। ‘सुदूरपश्चिममा थारू मुख्यमन्त्री भएको सबैले हेर्न चाहेका छन्, यो गठबन्धनबाटै हाम्रो मुख्यमन्त्री होस् भन्ने चाहेका छौँ,’ प्रधानमन्त्रीसँगको भेटपछि अध्यक्ष चौधरीले भने।

कांग्रेसबाट मुख्यमन्त्री बनेका कमलबहादुर शाह पदमुक्त हुने भएपछि सात सिटसहित तेस्रो रहेको नागरिक उन्मुक्तिले सरकारमा दाबी गरिरहेको हो। ५३ सदस्यीय प्रदेश सभा (एक सदस्यको निधन भएपछि हाल ५२) मा सरकार बनाउन २७ मत चाहिन्छ। तर, एमाले–माओवादीको कुल मत २० मात्र छ। सदनमा दोस्रो ठूलो दल माओवादीका सभामुखबाहेक १० र एमालेका १० सदस्य छन्।

सदनको पहिलो ठूलो दल नेपाली कांग्रेसका १८ सदस्य छन्। सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री रहेको अवस्थामा दुर्घटनामा परेर बझाङबाट निर्वाचित कांग्रेस सांसद पृथ्वीबहादुर सिंहको गत असारमा निधन भएको थियो। कांग्रेसका १८, नागरिक उन्मुक्तिका सात र एकीकृत समाजवादीका चार सदस्य मिल्दा आवश्यक बहुमत पुग्छ।

एकीकृत समाजवादी गठबन्धनतिर गए पनि कांग्रेस, नागरिक उन्मुक्ति, राप्रपा र स्वतन्त्र मिल्दा पनि सरकार गठनका लागि आवश्यक २७ सिट पुग्छ। ४ २०७९ मंसिर ४ गतेको निर्वाचनपछि एमाले–माओवादी गठबन्धनबाट एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल मुख्यमन्त्री बनेका थिए। तर, नागरिक उन्मुक्तिले मत नदिएपछि विश्वासको मत पाउन नसकेर उनको सरकार एक महिनामै ढलेको थियो।

सुदूरपश्चिममा अहिले नेपाली कांग्रेस संसदीय दलका नेता शाह नेतृत्वको सरकारमा माओवादी, नागरिक उन्मुक्ति र एकीकृत समाजवादी सहभागी छन्। अब बन्ने नयाँ सत्तासमीकरणमा मुख्यमन्त्रीमा माओवादी केन्द्र, नागरिक उन्मुक्ति र एमालेले आ—आफ्नै दाबी गरिरहेका छन्।

कमेन्ट लोड गर्नुस