सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा ३२ सय पशु चौपायामा ट्यागिङ्ग, ८ सय चौपाया गौशालामा राखियो

२०८० फाल्गुन २२, १०:०६ नारायण अवस्थी

धनगढीः कैलालीको धनगढीमा तीन हजारभन्दा बढी पशु चौपायाको ट्यागिङ्ग गरिएको छ।

धनगढीमा गाई–गोरु छोड्ने प्रवृत्ति रोक्न ट्यागिङ्ग गर्न थालिएको हो। अहिले धनगढी उपमहानगरभित्र साढे आठ सय चौपाया गौशालामा राखिएको छ। उपमहानगरले व्यवस्थापन गरेको दुई तथा समुदाय र इस्कोनबाट सञ्चालित एक/एक गौशालामा सामुदायिक चौपाया राखिएको छ। फूलबारी क्षेत्रका तीन वडाका स्थानीयले पालेका गाई–गोरु भने ट्यागिङ्ग गरिएको छ।

धनगढीमा गाई–गोरु व्यवस्थापनमा नगरपालिका र स्थानीय समुदाय जुटेको बेला भारत तथा छिमेकी पालिकाबाट धनगढी आउने चौपायाका कारण भने गाई/गोरु व्यवस्थापनको काम चुनौतीपूर्ण बनेको उपमहानगरको पशु सेवा शाखाका पशु चिकित्सक डाक्टर समीर ठाकुरले बताए। ‘सोमवारसम्मको तथ्याङ्कअनुसार नगर क्षेत्रका चारवटा गौशालामा ८४५ गाई/गोरु राखिएको छ।

धनगढीमा गाई–गोरु ट्यागिङ्ग गर्ने काम पनि भएको छ तर अन्यत्रबाट आउने गाई/गोरूको कारण व्यवस्थापन प्रभावकारी बन्न सकेको छैन’, ठाकुरले भने। धनगढी उपमहानगरले वडा नम्बर ७ देवहरियामा २७७ र फूलबारीमा रहेको गौशालामा ४ सय चौपाया राखिएको छ। वडा नम्बर ३ मा समुदायबाट सञ्चालित गौशालामा १०८ र वडा नम्बर १६ को इस्कोनले व्यवस्थापन गरिरहेको गौशालामा ६० वटा चौपाया राखिएको छ। फूलबारी गौशालामा राखिएका चौपायालाई समेत ट्यागिङ्ग गरिएको छ।

सडकमा छोडिएका गाई/गोरू उपमहानगरपालिकाको टाउको दुखाइको कारण बन्दै आएको छ। सडक तथा खेतबारीमा देखिने चौपाया उपमहानगरले व्यवस्थापन गर्न नसकेको भन्दै सर्वसाधारणले आलोचना गर्दै आएका छन्। तर, उपमहानगरले नगर क्षेत्रमा पालिएका चौपाया छाडा छोड्न नपाउन भनेर ट्यागिङ गर्न उपाय अभ्यास गर्न थालेको छ। धनगढीको वडा नम्बर १४ मा ९९४, वडा नम्बर १८ मा ७२० र वडा नम्बर १९ मा १ हजार १८९ गाई/गोरूलाई ट्यागिङ्ग गरिएको छ।

भविष्यमा कसैले चौपाया नछोडुन भनेर तीनवटा वडामा ट्यागिङ गरिएको र बाँकी सबै वडामा पनि चौपाया ट्यागिङ्ग गर्ने उपमहानगरले पशु चिकित्सक ठाकुरले बताए। ‘हामीले तीन वडामा घरघरमा गएर पशु ट्यागिङ्ग गरेका छौँ। त्यसको व्यवस्थित रेकर्ड पनि राखेका छौँ। अन्य वडामा पनि ट्यागिङ गर्नुपर्ने माग आएको छ। जथाभावी पशु छाड्ने प्रवृत्ति रोक्न सबै वडामा ट्यागिङ्ग गर्ने योजना छ’, ठाकुरले भने।

धनगढीमा सामुदायिक चौपाया व्यवस्थापनमा केही प्रयास भए पनि ती प्रयास सार्थक हुन भारत तथा छिमेकी पालिकाबाट आउने चौपाया बाधक रहेको देखिएको छ। खुला सीमाका कारण भारतबाट धनगढीको फूलबारी क्षेत्रमा ठूलो संख्यामा गाई आउने गरेको तथा धनगढीका छिमेकी गाउँपालिका तथा कञ्चनपुरबाट समेत धनगढीमा नै गाई/गोरु धपाउने गरेकाले व्यवस्थापनको पाटो चुनौतीपूर्ण रहेको पशुचिकित्सक डाक्टर ठाकुरले बताए।

‘धनगढीमा यताका मान्छेले पनि चौपाया छोड्ने गरेका छन्। भारत तथा अन्य छिमेकी पालिकाबाट पनि गाई/गोरु धनगढीतर्फ धपाउने गरेको पाइएको छ’, उनले भने, ‘हामीसँग पनि स्रोतसाधन सिमित छ; त्यसैले चौपाया व्यवस्थापनको काम चुनौतीपूर्ण छ।’ धनगढीका स्थानीयले दुध दुहुञ्जेल गाई घरम पाल्ने र त्यसपछि सडक तथा जङ्गलमा छाड्ने गर्दा सामुदायिक चौपायाको संख्या घट्न सकेको छैन। यस्तै, रातिको समयमा भारत तथा छिमेकी पालिका गोदावरी, गौरीगङ्गा, कैलारी र पुनर्वासबाट समेत रातिको समयमा चौपाया धनगढीतर्फ खेद्ने गरेका कारण चौपाया व्यवस्थापनमा समस्या रहेको बुझाइ उपमहानगरको छ।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस