सुदूर नेपाललाई विश्वसँग जोड्दै

१९ सदस्यको शपथग्रहण आज

२०८० फाल्गुन २१, ०८:४१ खबर संवाददाता

काठमाडौंः राष्ट्रिय सभाका १९ सदस्यहरुले आज शपथ ग्रहण गर्दै छन्। गत माघ ११ गते भएको राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित सदस्यहरुले शपथ ग्रहण गर्न लागेका हुन्।

आज शपथ ग्रहण गर्ने राष्ट्रिय सभा सदस्यहरुमा नेपाली कांग्रेसबाट कृष्णप्रसाद सिटौला, आनन्दप्रसाद ढुङ्गाना, विष्णुकुमारी पुडासैनी, जितजंग बस्नेत, पदमबहादुर परियार, किरणबाबु श्रेष्ठ, विष्णुकुमारी सापकोटा, कृष्णबहादुर रोकाया, बलदेव बोहरा र नारायणदत्त भट्ट रहेका छन्।

माओवादी केन्द्रबाट श्रीकृष्ण अधिकारी, मनरुपा शर्मा, झक्कु सुवेदी, विष्णुबहादुर विश्वकर्मा र रेणु चन्द छन्। यस्तै नेकपा एकीकृत समाजवादीबाट घनश्याम रिजाल र सावित्री मल्ल, नेकपा एमालेबाट रुक्मिनी कोइराला र जनता समाजवादी पार्टीबाट पूजा चौधरीले राष्ट्रिय सभा सदस्यको शपथ लिंदै छन्।

राष्ट्रिय सभाका अध्यक्षसहित २० सांसदको पदावधि हिजो सकिएको थियो। २०७४ सालमा निर्वाचित भएर ६ वर्ष कार्यकाल बिताएका उनीहरू आइतवार बिदा भएका छन्। उनीहरूको ठाउँमा हुने रिक्तता पूर्तिका लागि माघ ११ मा भएको राष्ट्रिय सभा निर्वाचनबाट १९ सदस्य निर्वाचित भएका थिए। एकजना सदस्य मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट नियुक्त हुन भने बाँकी छ।

माघ ११ गते भएको निर्वाचनबाट राष्ट्रिय सभाको समीकरण नै बदलिएको छ । माओवादी पहिलो ठूलो दल बन्दा कांग्रेस दोस्रो ठूलो दलको हैसियतमा रहनेछ। यस्तै एमाले तेस्रो ठूलो दल भएको छ भने नेकपा एकीकृत समाजवादी राष्ट्रिय सभामा चौथो ठूलो दल बनेको छ। २०७४ सालमा नयाँ संविधान जारी भएपछि भएको राष्ट्रिय सभा निर्वाचनबाट ५६ जना सदस्य निर्वाचित भएका थिए भने ३ जना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित भएका थिए।

निर्वाचनपछि राष्ट्रियसभाका ५९ सदस्यहरूको कार्यअवधि गोला प्रथाबाट निर्धारण गरिएको थियो। यसैबीच राष्ट्रिय सभाका अध्यक्ष पदको निर्वाचन आगामी फागुन २९ गते गर्ने गरी सम्भावित कार्यसूची तय गरिएको छ। अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको पदावधि समेत सकिएकाले नयाँ अध्यक्षको निर्वाचन गर्नुपर्ने भएको हो। राष्ट्रिय सभाको कार्यव्यवस्था तथा परामर्श समितिको बैठकले माघ र फागुन महिनाका लागि तयार गरेको सम्भावित कार्यसूचीमा अध्यक्षको निर्वाचन यही फागुन २९ गते गर्ने उल्लेख छ। नेपालको संविधानले राष्ट्रिय सभालाई स्थायी प्रकृतिको व्यवस्थापकीय अंगको रुपमा परिकल्पना गरेकोछ।

कमेन्ट लोड गर्नुस