सुदूर नेपाललाई विश्वसँग जोड्दै

पुलमा बम राखेको आरोपमा ५ जना पक्राउ

। फोटो स्रोत ।
२०७६ जेठ २, ०५:०१ खबर संवाददाता

पूर्व पश्चिम राजमार्गअन्तर्गत झापाको कनकाई पुलमा बम राखेको आरोपमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ। कुकर बम भन्दै शंकास्पद वस्तु राखेको आरोपमा इटहरी चोक नजिकैबाट दुईजना र झापाबाट तीनजनालाई प्रदेश १ प्रहरी कार्यालय विराटनगरको रिजनल इन्भेस्टिगेसन टिम (रिट) र जिल्ला प्रहरी कार्यालय झापाको संयुक्त टोलीले पक्राउ गरेको हो।

झापाका प्रहरी प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले दिएको जानकारी अनुसार पक्राउ परेका सबैको नाम गोप्य राखिएको छ, भने घटनामा अन्यको पनि संलग्नता हुनसक्ने भएकाले उनीहरुको नाम सार्वजनिक नगरिएको हो।  वैशाख २९ गते बिहान गोर्खा नेपाल जनुमक्ति मोर्चाको नामको पर्चासहित प्रेसर कुकुर भेटिएको प्रहरीले जनाएको छ।

मोर्चाले सुगौली सन्धी मार्फत नेपालले गुमाएको भूमि फिर्ता, २०४६ देखि अहिलेसम्मको विदेशीलाई दिएको अंगीकृत नागरिकता फिर्ता, संघीयता खारेज, भ्रष्टचारीलाई कारबाही, निःशुल्क शिक्षा र उपचारसहितको माग राखेको पर्चा पनि सँगै फेला परेको जनाईएको छ।

उनीहरुलाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

कमेन्ट लोड गर्नुस