सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती प्रादेशिक अस्पतालमा छैन फोहर पानी व्यवस्थापन गर्ने प्रणाली

२०८० फाल्गुन १९, ०६:४७ कमल सावद

धनगढीः कैलाली जिल्ला अस्पतालको रुपमा १९९७ सालमा सेती अस्पताल स्थापना भयो।

सेतीलाई २०४० सालमा अञ्चल अस्पतालमा रुपान्तरण गरियो। २०७४ सालमा प्रदेश सरकार गठन भएपछि सामाजिक विकास मन्त्रालय मातहतमा सेती अस्पताल छ। प्रदेश सरकारले सेतीलाई प्रादेशिक अस्पताल बनाएको छ। सेतीमा बिरामीको चाँप बढ्दै गएपछि भवनहरु निर्माण गरिएका छन्। संघ र प्रदेश सकरारले अस्पतालमा उपकरणहरुसमेत थप गरिएका छन्।

अस्पतालमा अक्सिजन उत्पादनका लागि प्लान्टसमेत जडान गरिएको छ। तर, स्थापनाको ८३ वर्षसम्म फोहर पानीको व्यवस्थापनका लागि भने कुनै काम भएको छैन। सेती प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर शाहीले फोहर पानी प्रशोधनका लागि नयाँ प्रविधिको अस्पतालमा आवश्यक रहेको बताए। उनले भने, सरसफाइमा सुधार गरेका छौ। शौचालय पुनः निर्माण गरेका छौ, रंगसमेत लगाएका छौ। तर, बिरामीको चाँप धेरै भएकाले समस्या छ।’

अस्पतालबाट निस्कने फोहर पानीको व्यवस्थापनका लागि छुट्टै व्यवस्था अझै गरिएको छैन्। अस्पतालबाट निस्किएको पानी शौचालयका लागि निर्माण गरिएको सेफ्टिटंकीमा फाल्ने काम हुँदै आएको छ। अस्पतालमा फोहर पानी प्रशोधनको प्रणाली समेत जडान नहुँदा सरसफाइमा समस्या हुँदै आएको छ। अस्पतालका शौचालय, सरसफाइ गर्दा आएको पानीसँग वर्षाको पानी व्यवस्थापनमा समेत समस्या हुने गरेको छ। उनले भने, ‘भित्र डुबान क्षेत्र हो। रोडहरु उचा भएका छन्।

अस्पताल क्षेत्र होचो छ। पानी निकासका लागि स्टीमेट तयार गर्न लगाएका छौ। वर्षाको समयमा डुबान हुने हो।’ सेतीमा वर्षातको पानीसमेत जम्मा हुने गरेको छ। अस्पतालका भवनहरु भन्दा मुख्य सडकको उचाई धेरै भएपछि वर्षातको पानीले डुबान हुने देखिएको हो। अस्पतालको पूर्वी र दक्षिणी क्षेत्रमा नयाँ सडक निर्माण भएका छन्।

साथै अस्पतालसँग फोहर पानीसँगै पानी निकासका लागि नालासमेत छैन्। अस्पताल विकास समितिसँग फोहर तथा वर्षातको पानी व्यवस्थापनका लागि समेत कुनै योजना छैन। अस्पताल विकास समितिका अध्यक्ष शाहीले अस्पतालको शाहीले पानीको व्यवस्थापनका लागि योजना निर्माणको चरणमा रहेको बताए।

उनले भने, ‘होचो भूमिबाट पानी सडकको नालीमा लैजाने विषयमा छलफल जारी छ।’ बिरामीको चाँप अनुसार अस्पतालमा पानीको समेत प्रयोग हुँदै आएको छ। तर, अस्पतालबाट निस्कने फोहर पानी र वर्षातको पानी व्यवस्थापनमा अस्पताल प्रशासन र प्रदेश सरकारले बेवास्ता गर्दै आएका छन्।

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस