बाजुराको एक पालिकाबाट ‘मर्यादित महिनावारी व्यवस्थापन कार्यविधि पारित’
बाजुराः बाजुराको खप्तड छेडेदह गाउँपालिकाले ‘मर्यादित महिनावारी व्यवस्थापन कार्यविधि, २०८०’ पारित गरेको छ।
गाउँपालिकाको १४औँ हिउँदे अधिवेशनमा पेस गरिएको कार्यविधि गाउँसभाको शुक्रवार बसेको बैठकले सर्वसम्मत पारित गरेको गाउँपालिकाकी उपाध्यक्ष बिसुदेवी नाथले बताइन्। सामाजिक कुप्रथाका रुपमा रहेको छाउपडी प्रथा निवारण र महिलालाई गरिने विभेद अन्त्य गर्नका लागि उक्त कार्यविधि ल्याइएको उनले बताइन्। पालिकामा सामाजिक समस्याका रुपमा रहेको छाउ कुप्रथाको उचित निवारणका लागि मर्यादित महिनावारी व्यवस्थापन कार्यविधि पारित गरिएको हो।
कार्यविधि पारित भएसँगै मर्यादित महिनावारी शब्द सम्बोधन गरिने र निवारणका लागि कार्यविधिबमोजिम काम गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष दीलबहादुर रावतले बताए। समाजमा व्याप्त रहेको छाउपडी प्रथालाई पालिकास्तरबाट नै निवारण गर्ने गरी कार्यविधि अघि सारिएको उनको भनाइ छ। कार्यविधि कार्यान्वयन भएसँगै महिलामाथि हुने विभेद कम हुने अपेक्षा लिइएको उनले बताए।