धनगढीको नवजीवन अस्पतालमा निःशुल्क डायलाइसिस सेवा विस्तार
धनगढीः धनगढीमा निजी स्तरको लगानीबाट सञ्चालित नवजीवन अस्पताल स्थापनाको १८ पूरा भएको छ। धनगढी– ४ उत्तर बेहडीमा २०६२ साल फागुन १७ गते स्थापना भएको निजी क्षेत्रको प्रदेशकै पहिलो अस्पताल नवजीवनले विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गरिरहेको छ।
१५ शय्याबाट सुरु भएको नवजीवनले २०६८ सालबाट ५० शय्या सञ्चालनको अनुमति पाएको हो। स्वास्थ्य सेवा विभागबाट ५० शय्या सञ्चालनको अनुमति पाएको नवजीवनले २०७९ असोजदेखि एक सय शय्याबाट उपचार सेवा प्रदान गरिरहेको छ। हाल एक सय शय्या क्षमतामा उपचार प्रदान गरिरहेको अस्पताललाई निकट भविष्यमै दुई सय शय्या क्षमतामा चलाउने योजना रहेको अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर विदुरमणि ढकालले जानकारी दिएका छन्।
निजी लगानीबाट सञ्चालित नवजीवन अस्पतालले सामाजिक उत्तरदायित्व बहन गर्दै नेपाल सरकारसँगको सहकार्यमा विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ।अस्पतालले आमा सुरक्षा कार्यक्रम, खोप कार्यक्रम क्षयरोगका बिरामीको निःशुल्क औषधि वितरण लगायतको उपचार सेवा प्रदान गर्दै आएको जनाएको छ।
हाल नवजीवन अस्पतालबाट २० भन्दा बढी स्वास्थ्य सेवा प्रदान भइरहेको अस्पतालका प्रमुख प्रशासकीय अधिकृत चक्र खडायतले जानकारी दिएका छन्। उनले अत्याधुनिक स्वास्थ्य उपचार सेवा थपिदै गएको र सुलभ स्वास्थ्य सेवा पाउने भएकाले अस्पतालमा बिरामीको आकर्षण बढ्दै गएको दाबी गरेका छन्।
नवजीवन अस्पतालबाट पछिल्लो एक वर्षमा ५२ हजार ६ सय ३७ बिरामीले सेवा लिएको अस्पतालको तथ्याङ्क छ। २०७९ फागुनदेखि २०८० माघ मसान्तसम्म अस्पतालको आकस्मिक कक्षबाट ४ हजार ९ सय ५४ जना बिरामीले उपचार सेवा पाएको अस्पतालले जनाएको छ।
एक वर्षमा अस्पतालको बहिरङ्ग विभागबाट ३० हजार ३ सय ४६ बिरामी, अन्तरङ्ग विभागबाट ४ हजार ५१३, २ हजार १३० जनाको शल्यक्रिया र एक हजार ४६३ जनाले, निः शुल्क सुत्केरी सेवा लिएको अस्पतालले प्रस्तुत गरेको तथ्याङ्कले देखाएको छ। अस्पतालबाट दुई हजार ८९४ बालबालिकाले निः शुल्क खोप सेवा लिएको र पाँच हजार ७५ जना वृद्धवृद्धा र विपन्न नागरिकले उपचार सेवा पाएको जनाइएको छ।
एक वर्षमा नवजीवन अस्पतालले विभिन्न स्वास्थ्य संस्थासँग सहकार्य गरेर निःशुल्क स्वास्थ्य शिविर चलाएको छ। कञ्चनपुरको श्रीपुर स्वास्थ्य चौकी, बेलौरीसँगको सहकार्यमा दुई हजार १५० जनालाई निःशुल्क विशेषज्ञ सेवा प्रदान गरेको छ।
यसैगरी, गौरीगंगा नगरपालिकासँगको सहकार्यमा चौमाला र मसुरीया स्वास्थ्य चौकीबाट ८ सय ५५ जनाले निःशुल्क विशेषज्ञ उपचार सेवा पाएको अस्पतालले जनाएको छ। लायन्स क्लब अफ धनगढी सिटी,धनगढी एभरेष्ट र धनगढी भिजनसँगको सहकार्यमा कञ्चनपुरको अमरबस्तीका ७१ जनालाई निःशुल्क विशेषज्ञ उपचार सेवा प्रदान गरिएको जनाइएको छ। नवजीवन अस्पतालबाट दुई हजार ४४ जनाले अस्पताल परिसर भित्रबाटै नियमित रुपमा प्रदान गरिएको निःशुल्क विशेषज्ञ, अन्तरङ्ग तथा अन्य सेवा लिएको प्रमुख प्रशासकीय अधिकृत खडायतले बताएका छन्।
नवजीवन अस्पतालमा २० भन्दा बढी उपचार सेवा
हाल नवजीवन अस्पतालबाट बिरामी प्रदान २० भन्दा बढी स्वास्थ्य सेवामा प्राप्त गर्ने सुविधा रहेको छ। प्रत्येक दिन अस्पतालबाट हाड जोर्नी तथा नसा रोग विशेषज्ञ सेवा, प्रसूति तथा महिला रोग, बालरोग, जनरल तथा ल्याप्रोस्कोपिक सर्जन, मानसिक तथा स्नायु, पेट छाती तथा मुटुरोग विशेषज्ञ सेवा प्रदान भइरहेको छ। यस्तै एनेस्थेसियोलोजिष्ट एवं क्रिटीकल केयर सेवा, छाला चर्मरोग, एलर्जी, यौन तथा गुप्तरोग विशेषज्ञ सेवा तथा सौन्दर्य विशेषज्ञ सेवा, नाक कान तथा घाँटी रोग, युरो सर्जन तथा मिनी पिसिएनएल सेवा हरेक दिन प्रदान भइरहेको छ।
अस्पतालमा वरिष्ठ न्युरो सर्जन, स्पाईन सर्जन, दन्तरोग तथा वरिष्ठ म्यावजोफिशियल सर्जन, वरिष्ठ फिजीयोथेरापिष्ट, वरिष्ठ नेफ्रोलोजिस्ट,डायलासिस विषेशज्ञ सेवा हरेक शुक्रबार र शनिवार प्रदान भइरहेको छ। वरिष्ठ मुटुरोग विशेषज्ञ डिएम कार्डियोलोजिस्टबाट महिनाको एक पटक दुई दिनसम्म सेवा दिने व्यवस्था मिलाइएको छ।
अस्पतालमा काठमाडौँको प्रतिष्ठित अस्पतालबाट वरिष्ठ भास्कुलर सर्जनको टोलीबाट हरेक महिना दुई दिनसम्म ओपिडी तथा फिष्टुलाको शल्यक्रिया गर्ने व्यवस्था मिलाइएको छ।अस्पतालमा रेडियोलोजी सेवा अन्तरगत सिटी स्क्यान, फोरडि युएसजी, इसिएचओ, टिएमटी, इन्डोस्कोपी र इसिजी सेवा नियमित प्रदान भइरहेको छ। यस्तै, अस्पतालले आइसियू, एनआइसियू, एसी क्याविन, हरेक दिन २४ सैं घण्टा डायलाइसिस सेवा, २४ सैं घण्टा फार्मेसी सेवा, एम्बुलेन्स सेवा र आकस्मिक सेवा प्रदान गरिरहेको बताइएको छ।
डायलाइसिस सेवा निःशुल्क
नवजीवन अस्पतालबाट आजबाट डायलाइसिस सेवा निःशुल्क प्रदान हुने भएको छ। अस्पतालबाट विपन्न बिरामीलाई नेपाल सरकारबाट शुल्क सोधभर्ना हुने गरी निःशुल्क डायलाइसिस् सेवा प्रदान गरिएको हो। बिरामीले विपन्न भएको सिफारिस ल्याएमा निःशुल्क उपचार सेवा प्रदान गरिने भएको हो। डायलाइसिस सेवा नवजीवन अस्पताल र सुदूरपश्चिम इन्टरनेसनल डायलाइसिस सेन्टरको सहकार्यबाट सम्भव भएको अस्पतालले जनाएको छ।
अस्पतालबाट आगामी दिनमा थप सेवा विस्तार गर्ने योजना रहेको सञ्चालक समितिले जनाएको छ। अस्पताल स्थापना भएको १८ वर्ष पूरा भएको अवसरमा बिरामीलाई फलफूल वितरण, रक्तदान लगायतका विभिन्न कार्यक्रम गरिएको छ। रक्तदान कार्यक्रमबाट ४१ प्रीन्ट रगत सङ्कलन भएको छ।