सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘मेरो ३४ वर्षे राजनीतिक जीवन समाप्त पार्ने डिजाइन स्वीकार्य छैन’

माओवादी सुदूरपश्चिममा फेरी हलचल

२०८० फाल्गुन १६, ०१:१८ खबर संवाददाता

धनगढीः नेकपा माओवादी केन्द्र सुदूरपश्चिममा फेरी हलचल मच्चिएको छ।

सुदूरपश्चिम माओवादीको नेतृत्व परिवर्तनदेखि नै सुरु भएको हलचल अहिले पनि कायमै छ। माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको नेता परिवर्तन भएसँगै माओवादी दुई कित्तामा विभाजन हुन पुगेको छ। तत्कालिन संसदीय दलका नेता खगराज भट्टले आज (बुधबार) आफ्नो फेसबुकमा ‘सुदूरपश्चिमको पार्टी सिध्याउने र मेरो ३४ वर्षको रानीतिक जीवन समाप्त पार्ने डीजाइन अस्वीकार्य छ’ भनेर लेखेका छन्।

यसबाट पनि माओवादीभित्र टुटफुडले बिकराल रुप लिइरहेको विषयलाई प्रष्ट पार्छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थायी कमिटी सदस्य समेत रहेका प्रदेश सांसद खगराज भट्टलाई मुख्यमन्त्री बनाउने गरी नेतृत्व परिवर्तन गर्ने भनेर गरेको प्रस्तावप्रति माओवादीभित्रै देखिएको ‘मतभेद’ बाट उनी झनै खिन्न बनेका छन्।

मंगलबार बसेको बैठकमा प्रचण्डको उक्त प्रस्तावप्रति नेताहरूबिच मतभेद देखिएपछि अर्को दिन निर्णय गर्ने भन्दै बैठक नै स्थगित हुन पुगेको थियो। बैठकमा अध्यक्ष प्रचण्डले भट्टलाई आगामी दिनमा मुख्यमन्त्रीसमेत बनाउने गरी कांग्रेससँग छलफल गर्ने भनेर प्रस्ताव गरेका थिए। तर, प्रचण्डको उक्त प्रस्तावप्रति नेताहरू चक्रपाणि खनाल, जनार्दन शर्मा र देवेन्द्र पौडेल लगायतले असहमति जनाए।

खनाल, शर्मा र पौडेलले गलत ढंगले नेतृत्व परिवर्तन गर्न जायज नहुने धारणा राखेका थिए। ‘सुदुरपश्चिममा यसअघि भर्खर नेतृत्व परिवर्तन भएको छ। फेरि तत्काल अर्को नेतृत्व ल्याउँदा गलत हुन्छ। अहिले नेतृत्व लिएका नेताको अपमान हुन्छ,’ असहमति जनाउने नेताहरूले बैठकमा भनेका थिए। 

गत माघ १२ गते नेकपा माओवादी केन्द्रले खगराज भट्टलाई दलको नेताबाट हटाएर सुदूरपश्चिम प्रदेश संसदीय दलको नेता परिवर्तन गरेको थियो। माओवादी सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले प्रदेश सभा सदस्य मानबहादुर धामीलाई नयाँ संसदीय दलको नेता चयन गरेको थियो।

कमेन्ट लोड गर्नुस