सुदूर नेपाललाई विश्वसँग जोड्दै

पाकिस्तानमा राष्ट्रपति चुनावको तयारी

२०८० फाल्गुन १६, ११:४६ खबर संवाददाता

एजेन्सीः पाकिस्तानमा राष्ट्रपति चुनावको तयारी सुरु हुँदै छ। आम निर्वाचन सम्पन्न भइसकेकाले पाकिस्तानको निर्वाचन आयोगले राष्ट्रपति पदका लागि चुनावी कार्यतालिका जारी गर्ने तयारीमा जुटेको हो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार मार्च १ तारिखमा राष्ट्रपति पदको चुनावी कार्यतालिका प्रकाशित हुने सम्भावना रहेको छ। पाकिस्तानको नयाँ राष्ट्रपतिमा आसिफ अली जरदारीको सम्भावना रहेको छ। उनी पाकिस्तान पिपुल्स पार्टी (पीपीपी)का नेता हुन्।

राष्ट्रपतिको निर्वाचनको महत्त्वपूर्ण पक्ष इलेक्टोरल कलेज फेब्रुअरी २९ मा सार्वजनिक हुने छ। त्यसपछि निर्वाचन आयोगले मार्च एकमा राष्ट्रपति निर्वाचनको औपचारिक कार्यक्रम र सार्वजनिक सूचना जारी गर्नेछ। फेब्रुअरी २९ सम्ममा चारवटै प्रदेश सभाहरू अस्तित्वमा आउने र त्यसपछि राष्ट्रपतिको निर्वाचनका लागि आवश्यक निर्वाचक मण्डल गठनको काम पूरा हुने निर्वाचन आयोगका प्रवक्तालाई उद्धृत गर्दै साम टिभीले जनाएको छ।

पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) नेता शहबाज शरीफको नेतृत्वमा केन्द्रमा छ दलीय गठबन्धनले नयाँ गठबन्धन सरकार गठन गर्ने तयारी गरेको छ। पीएमएल–एनले पाकिस्तान पिपुल्स पार्टी (पीपी) का आसिफ अली जर्दारीलाई राष्ट्रपतिको उम्मेदवार घोषणा गरेको छ।
 

कमेन्ट लोड गर्नुस