सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा खानेपानी संस्थानका पाइपहरू फुटेर बजार क्षेत्रका सडक जलमग्न

२०८० फाल्गुन १६, १०:२९ कमल सावद

धनगढीः कैलालीको धनगढी स्थित सहिदगेटदेखि शिवपुरी धामसम्मको सडक सहरी विकास मार्फत कालोपत्र भयो। कालोपत्रको काम पूरा भए पनि सडकको बिच भागमा रहेका खानेपानीको लाइन स्थानान्तरण गरिएन। सडकको बिचमा रहेको खानेपानीका पाइप पटक–पटक फुट्ने गरेको छ।

शिवपुरी सामुदायिक वनको कार्यालय क्षेत्रमा खानेपानी संस्थानको पाइप फुटेको झण्डै वर्ष दिन भएको छ। उक्त सडकको अन्य क्षेत्रमा पनि खानेपानीको पाइप फुटेको छ। तर, पाइप मर्मतमा खानेपानी संस्थानको ध्यान गएको छैन। खानेपानी संस्थान, धनगढीका प्रमुख शैलेन्द्रकुमार शाहले जानकारी भएसम्म मर्मत गर्दै आएको बताए। उनले भने, ‘सडक निर्माणको चरणमा छन्। सडक निर्माण गर्ने निकायहरुले मर्मत गर्नुपर्ने हो। हामीले स्टीमेटसमेत दिने गरेका छौ। तर, काम हुने गरेको छैन्।’

सहिदगेटदेखि कैलाली बहुमुखी क्याम्पससम्मको सडक निर्माणकै चरणमा छ। क्षेत्रीय सहरी विकासले सडकको दुबैतिर नयाँ खानेपानीका पाइपहरूसमेत विस्तार गरेको छ। तर, खानेपानी संस्थानको बिच सडकमा रहेको पाइप हटाइएको छैन। खानेपानी संस्थानको बिच सडकमा रहेको पाइप नहटाउँदा सडक बिग्रिने गरेको छ। कालोपत्र गरिएको सडकको बिचमा रहेको पाइपका कारण सडक भत्किने गरेको छ। तर, सडक निर्माणको काम पूरा नभएको भन्दै संस्थानले टार्दै आएको छ।

कैलालीपुलदेखि क्याम्पस रोडसम्मको सडक निर्माणको चरणमा छ। प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतको पूर्वाधार विकास कार्यालय, कैलालीले ठेक्का मार्फत मुख्य सडक निर्माणको काम गर्दैछ। तर, उक्त सडकको पनि बिच भागमा खानेपानीका पाइपहरू छन्। बिच सडकमा परेका पाइपका कारण हिलो हुने गरेको छ। हिलोका कारण यातायात सञ्चालनमा समेत समस्या हुने गरेको छ भने सडक निर्माणमा समेत बाधा हुने गरेको छ।

नेपाल खानेपानी संस्थान, धनगढीका प्रमुख शैलेन्द्रकुमार शाहले ३२ जना मात्र कर्मचारी रहेको बताए। धनगढीमा नौ हजार धारा ३२ जना कर्मचारीले व्यवस्थापन गर्दै आएको उनले बताए। खानेपानी संस्थानले कर्मचारीको अभाव देखाउदै फुटेका पाइपहरूसमेत मर्मत गरेको छैन। स्थानीयले पटक–पटक फुटेका पाइपको विषयमा जानकारी गराउँदा पनि संस्थानले बेवास्ता गर्दै आएको छ। नेपाल खानेपानी संस्थानका पाइपहरू फुटेपछि धनगढी बजारका सडकहरू जलमग्न भएका छन्। धनगढी उपमहानगरपालिकाको बजार क्षेत्रका सडकहरूमा खानेपानीका पाइपहरू फुटेका छन्।

कालोपत्र गरिएका सडकहरुमा फुटेका पाइपले सडक भत्किएका छन्। निर्माणको चरणमा रहेका सडकहरूमा खानोपनीका पाइपहरू फुटेपछि यातायात सञ्चालनमा समेत समस्या भइरहेको हो।

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस