सुदूर नेपाललाई विश्वसँग जोड्दै

चार अस्पतालको स्तरोन्नती गर्ने सुदूरपश्चिम सरकारको निर्णय कार्यान्वयन भएन

२०७६ जेठ २, ०७:२३ नवराज पनेरु

सुदूरपश्चिमका चार अस्पतालको २५ शैयामा स्तरोन्नती गर्ने प्रदेश सरकारको निर्णय चार महिना सम्म कार्यान्वयन हुन सकेको छैन्। सुदूरपश्चिम प्रदेशको माघ ६ गते बसेको मन्त्रीपरिषद्को बैठकले मालाखेती अस्पताल कैलाली, जोगबुडा अस्पताल डडेल्धुरा, गोकूलेश्वर अस्पताल दार्चुलालाई १५ सैयाबाट २५ शैया र प्राथमिक स्वास्थ्य केन्द्र बेलौरी कञ्चनपुरलाई पनि २५ सैयाको अस्पतालमा स्तरोन्नती गर्ने निर्णय गरेको थियो। तर मन्त्रीपरिषद्को बैठकले निर्णय गरेको चार महिना पुग्नै लाग्दा समेत स्तरोन्नतीको निर्णय भएको आधिकारीक रुपमा जानकारी समेत नपाएको मालाखेती अस्पतालका प्रमुख डाक्टर शिवराज पनेरुले बताए। 

प्रदेशको सामाजिक विकास मन्त्रालयले गरेको प्रस्तावका आधारमा माघ ६ गते बसेको मन्त्रीपरिषद्को बैठकले चार अस्पतालको स्तरोन्नतीका लागि गरेको निर्णय अहिले सम्म कार्यान्वयन नभएको हो। अहिले सम्म स्तरोन्नतीका लागि भएको निर्णयको विषयमा आधिकारीक रुपमा जानकारी नपाएको डडेल्धुराको जोगबुढा अस्पतालका मेसु डाक्टर करुणा बज्राचार्यले बताईन्।मन्त्रीपरिषद्को निर्णय भएको चार महिना पुग्नै लाग्दा समेत मालाखेती अस्पताल कैलाली, जोगबुडा अस्पताल डडेल्धुरा र गोकूलेश्वर अस्पताल दार्चुला १५ सैयामै सञ्चालन भईरहेका छन्। बेलौरी भने अहिले पनि प्राथमिक स्वास्थ्य केन्द्र नै छ। स्तरोन्नतीमा समेटिएका चार वटै अस्पताल र स्वास्थ्य केन्द्रहरु स्थानीय सरकारको मातहतमा आएपनि प्रदेश सरकारले अधिकार खोस्दै गरेको निर्णय अहिले कार्यान्वयनमा पनि समस्या श्रृजना भईरहेको हो। गोकुलेश्वर अस्पताल दार्चुलाका मेसु डाक्टर रोशन भगतले पनि प्रदेशले स्तरोन्नती गरेको विषयमा जानकारी नभएको बताए। 

संघीय सरकारले प्रदेश र स्थानीय सरकारको मातहतमा अस्पताल पठाएपछि अहिले अधिकासं स्वास्थ्य सस्थाहरुको विजोग भएको छ। २५ शैयाको अस्पताल सञ्चालनका लागि भौतिक संरचना भएपनि उपकरण र जनशक्ति १५ शैयाका लागि समेत उपलव्ध हुन सकेको छैन्। जस्ले गर्दा अस्पताल सञ्चालनमा समस्या हुँदै आएको छ। प्रदेश सरकारले निर्णय कार्यान्वयनका लागि फेरी संघीय सकारकै मुख ताक्नु परेको जनाएको छ। उक्त निर्णयको स्वीकृती, दरबन्दी श्रृजना र परिपुर्तीका लागि संघीय स्वास्थ्य मन्त्रालयलाई महिनौ अगाडी पठाईएको भएपनि स्वीकृती भएर नआउँदा निर्णय कार्यान्वयनमा समस्या भएको सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले बताए। संघीय सरकारले सुदूरपश्चिमभरी रहेका सबै अस्पताल र स्वास्थ्य चौकी प्रदेश र स्थानीय सरकारलाई महिनौ अगाडी हस्तान्तरण गरिसकेको छ। तर प्रदेश र स्थानीय सरकारको मातहतमा रहेका अस्पतालहरुको विषयमा गरिएका सबै निर्णय कार्यान्वयनको चरणमा भने जान सकेका छैनन्। 
 

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस