कस्तो रहनेछ आजको मौसम ?

काठमाडौँः देशका केही भू–भागमा आज वर्षा र हिमपातको सम्भावना छ। पहाडी भू–भागमा वर्षा र उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको हो।
जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहँदा बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। विभागले दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ। बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ।
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ। विभागले राति पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ। बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ।


