थारु समुदायको परम्परागत खेल ‘भोदी’ सुरु, युवा र अगुवाहरुले संरक्षणमा जोड
धनगढी: सुदूरपश्चिम तथा तराई क्षेत्रमा बसोबास गर्ने थारु समुदायमा परम्परादेखि खेलिँदै आएको मौलिक खेल ‘भोदी’ यस वर्ष पनि सुरु भएको छ। आधुनिक खेल र प्रविधिको प्रभावले गाउँघरमा परम्परागत खेल हराउँदै गएपछि थारु समुदायका युवा तथा अगुवाहरुले यसको संरक्षणमा सक्रियता देखाएका छन्।
कैलारी गाउँपालिका वडा नम्बर ८ लोहलपुरको युवा जनहित क्लबले थारु समुदायको बर्का भजहर पर्वको अवसरमा भोदी खेलको आयोजना गरेको हो। सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य सचिव लोकबहादुर खड्का रविले उद्घाटन गरेका थिए।
भोदी खेल समूहमा खेलिने परम्परागत खेल हो। प्रत्येक समूहमा करिब १० जना खेलाडी सहभागी हुन्छन्। खेल मैदानको बीच भागमा सानो खाडल बनाई त्यसमा काठका लट्ठीहरू राखिन्छ, जसलाई थारु भाषामा “टाँचा” भनिन्छ। खेलाडीहरूले पालैपालो झटारो हानेर खाडलभित्र रहेका लट्ठी बाहिर निकाल्ने प्रयास गर्छन्। निर्धारित समयभित्र सबैभन्दा धेरै लट्ठी निकाल्ने समूह विजेता घोषणा गरिन्छ।
यो खेलमा शारीरिक फुर्तिको साथै समूह समन्वय, रणनीति र एकताको महत्वपूर्ण भूमिका रहने गर्दछ। आयोजकहरूका अनुसार, भोदी खेलले युवा पुस्तालाई सांस्कृतिक पहिचानसँग जोड्ने र समुदायमा खेलकुद र सहभागितालाई प्रवर्द्धन गर्ने अवसर पनि प्रदान गर्दछ।