सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा ५ प्रकारका उद्योगको उत्पादन बढ्यो, रोजिन र गहुँको घट्यो

२०८० फाल्गुन १२, १२:५२

वीरेन्द्र भट्ट, धनगढीः सुदूरपश्चिम प्रदेशभित्र खुलेका ५ प्रकारका उद्योगको उत्पादन बढेको छ।

तोरीको तेल, चामल, चिनी, साबुन र इँटाको उत्पादन बढेको हो। अघिल्लो आर्थिक वर्ष २०७८/७९ को तुलनामा गत आर्थिक वर्ष २०७९/८० मा ती उद्योगबाट उत्पादित वस्तुको उत्पादन बढेको अध्ययन प्रतिवेदनले देखाएको छ। दुई प्रकारका उद्योगको उत्पादन भने घटेको छ।

गहुँको पिठो र रोजिनको उत्पादन घटेको छ। प्रदेशभित्र खाने तेल, प्रशोधित दूध, गहुँको पिठो, चामल, चिनी, काठ, साबुन, ईटा, रोजिन एण्ड टर्पेन्टाईन लगायतका उद्योगहरु दर्ता छन्। प्रशोधित दुधको उद्योग भने हाल सञ्चालनमा छैन्। आर्थिक वर्ष २०७९/८० मा गरिएको अध्ययन अनुसार यस क्षेत्रमा सञ्चालित १२ वटा उद्योगको औसत क्षमता उपयोग ५३ दशमलव २८ प्रतिशत देखिएको छ।

समीक्षा वर्षमा चिनी, इँटा, तोरीको तेल उत्पादन गर्ने उद्योगको अधिकतम क्षमता उपयोग भएको पाइएको छ। त्यसैगरी, साबुन, गहुँको पिठो, रोजीन र चामल उत्पादन गर्ने उद्योगहरुको क्षमता उपयोग न्यून रहेको छ। रोजिन उत्पादन गर्ने उद्योग कामदारहरुको अभाव, कच्चा पदार्थ संकलनमा भएको ढिलाई, उद्योग पूर्ण रुपमा सञ्चालन हुन नसक्नु लगायत कारण उत्पादन न्यून हुन गएको छ।

पछिल्लो समयमा आर्थिक क्षेत्रहरु चलायमान बन्दै गएकाले औद्योगिक क्षमता र उत्पादन दुवैमा बृद्धि हुन गएको देखिएको छ। समीक्षा वर्षमा तेलको ८९ दशमलव ६९ प्रतिशत, चामलको ५ दशमलव ८१ प्रतिशत, चिनीको २७ दशमलव शून्य ७ प्रतिशत, साबुनको १० दशमलव २० प्रतिशत र इँटाको २८ दशमलव ५७ प्रतिशतले उत्पादनमा वृद्धि भएको छ।

त्यस्तै गँहुको पीठो र रोजिनको उत्पादनमा भने क्रमशः ३५ दशमलव १३ र १६ दशमलव ८४ प्रतिशतले घटेको छ। यस्ता वस्तु उत्पादन गर्ने उद्योगहरुको क्षमता उपयोग घटेको कारण उत्पादनमा ह्रास आएको नेपाल राष्ट्र बैंक धनगढीले गरेको अध्ययन प्रतिवेदनमा उल्लेख छ।

कमेन्ट लोड गर्नुस