धनगढीको कैलाली मोडेल स्कुलले तेक्वान्दो प्रतियोगिता गर्ने
धनगढी: धनगढीको कैलाली मोडेल स्कुलले तेक्वान्दो प्रतियोगिता गर्ने भएको छ। फागुन ११ र १२ गते तेक्वान्दो प्रतियोगिता हुने भएको हो। बिहीवार स्कुलले पत्रकार सम्मेलन गर्दै अन्तर विद्यालय तेक्वान्दो प्रतियोगिता गर्ने जानकारी गराएको हो। तेक्वान्दो प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको विद्यालयका तेक्वान्दो प्रशिक्षक पृथ्वीराज घिमिरेले बताए।
विद्यालयले यो वर्षबाट अन्तर विद्यालय टाइगर किड्स तेक्वान्दो च्याम्पियनसिप गर्ने सुरुवात गरेको विद्यालयका प्रधानाध्यापक तपेन्द्रबहादुर सिंहले बताए। खेलकुदले विद्यार्थीलाई अनुशासित, संयम र समयको गति बुझ्न मार्गदर्शन गर्ने भएकाले विद्यालयले खेलकुदलाई पनि शिक्षण सिकाइको अभिन्न अङ्ग मानेको बताए। तेक्वान्दो च्याम्पियनसिपका माध्यमबाट विद्यालय र विद्यार्थीका बीचमा आपसी सम्बन्धको सेतु निर्माण गर्न पनि प्रतियोगिता गर्न लागेको प्रधानाध्यापक सिंहले बताए।
विद्यालयले तेक्वान्दो प्रतियोगिता गरेर विद्यार्थीलाई अनुशासनमा बस्न र स्वस्थ्य जीवन यापन गर्न प्रेरणा दिने तेक्वान्दो खेलाडी तथा पत्रकार हिक्मत रावलले बताए। उनले खेलाडीले अनुशासित भएर खेल खेल्दा त्यसको प्रभाव उसको जीवन, परिवार र समुदायमा पर्ने बताए।
दुई दिनसम्म चल्ने तेक्वान्दो प्रतियोगितामा एक दर्जन विद्यालयका खेलाडीको सहभागिता हुने विद्यालयले जनाएको छ।