सुदूरपश्चिममा पहिलो पटक ललितकला प्रदर्शनी हुँदै
धनगढीः सुदूरपश्चिम प्रदेशमा पहिलो पटक ललितकला प्रदर्शनी हुने भएको छ। नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान काठमाडौँले फागुन २० देखि प्रदेशस्तरीय प्रदर्शनी गर्न लागेको हो। प्रदेशस्तरीय ललितकला प्रदर्शनीमा चित्रकला, मूर्तिकला, लोककला, हस्तकलाको प्रदर्शनी गरिने छ।
यसैगरी, बहुआयामिक कला र परम्परागत कला लगायतका कृतिको प्रदर्शनी गर्न फागुन १२ गतेसम्म कृति दर्ता गर्नुपर्ने समय तोकिएको ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ प्रदिप अधिकारीले बताए। ‘नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान काठमाडौँको आयोजना र सुदूरपश्चिम प्रदेश प्रज्ञा प्रतिष्ठानको सह–आयोजनामा धनगढीमा पहिलो पटक प्रदेशस्तरीय ललितकला प्रदर्शनी हुने भएको प्राज्ञ अधिकारीले बताए। ‘फागुन २० देखि २४ गतेसम्म हुने प्रदर्शनीमा भाग लिन इच्छुक कलाकारहरूले आफ्नो कला कृति फागुन १२ गतेभित्र दर्ता गरिसक्नुपर्ने छ। अहिलेसम्म काठमाडौँमा मात्रै सीमित रहेको ललितकला प्रदर्शनी यो वर्षबाट प्रदेश स्तरीय हुन लागेको हो,’ प्राज्ञ अधिकारीले भने।
प्रदेशमा रहेका कलाकारहरूलाई माथि उठाउन प्रदेशस्तरीय प्रदर्शनी गर्ने निर्णय भएको र यसले आगामी वर्षहरूमा निरन्तरता पाउने निर्णय ललितकला प्रज्ञा प्रतिष्ठानले गरेको छ। प्रदेशस्तरीय ललितकला प्रदर्शनीमा भाग लिन चाहने कलाकारले आफ्नो कृति फागुन १२ गतेभित्र कृति दर्ता गर्न सुदूरपश्चिम प्रदेश प्रज्ञा प्रतिष्ठानमा समेत सम्पर्क गर्न सकिनेछ। पहाडी जिल्लाबाट धनगढी आउन नसक्ने कलाकारहरूले आफ्नो कृति प्रदर्शनीमा विभिन्न माध्यमबाट समेत पठाउन सक्नेछन्। त्यस्तो कृति उत्कृष्ट ठहरिए प्रदेशस्तरीय प्रदर्शनीमा पुरस्कृत गरिनेछ भने राष्ट्रिय ललितकला प्रदर्शनीमा समेत उक्त कृतिलाई सहभागी गराइने प्राज्ञ अधिकारीले बताए।
धनगढीमा हुने प्रदेशस्तरीय ललितकला प्रदर्शनीमा करिब एक सय कलाकृति आउने अपेक्षा आयोजकले गरेको छ। सुदूरपश्चिमका ललितकलाका कलाकार र कृतिहरूको प्रचारप्रसार र प्रवर्धन गर्न प्रदेशस्तरीय ललितकला प्रदर्शनी गर्ने निर्णय भएको प्राज्ञ अधिकारीले बताएका छन्। ‘यो वर्ष सूचना प्रवाहमा ढिला भएको छ। तर, धेरैजसो कलाकारहरू सम्पर्कमा आउनुभएको छ,’ उनले भने, ‘यो वर्ष सुदूरपश्चिमबाट एक सय कलाकारको कृतिले प्रदर्शनीमा भाग लिने अनुमान गरेका छौँ।’
फागुन २० देखि २४ गतेसम्म हुने ललितकला प्रदर्शनीमा सुदूरपश्चिमका दर्जनौं कलाकारहरूले आफ्नो कलाकृति प्रदर्शनीका लागि ल्याउने अपेक्षा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले गरेको छ। यस क्षेत्रका कलाकारहरूलाई प्रदर्शनीमा भाग लिन प्रदेश प्रज्ञा प्रतिष्ठानमा सम्पर्क गर्न आग्रह गरिएको छ।