धनगढीको एक बाहेक सबै वडा गैरकृषि, किसान समस्यामा
धनगढी : कैलालीको धनगढी उपमहानगरपालिकाको कार्यपालिकाको बैठकले एक वडा बाहेक सबैलाई आवासीय क्षेत्र घोषणा गरेको छ। धनगढीले वडा नम्बर १७ लाई मात्र कृषि क्षेत्र घोषणा गरेको छ। वडा नम्बर १, २, ३, ४, ५, ११ र १३ लाई पूर्ण गैरकृषि घोषणा गरिएको छ। बाँकी वडाहरूलाई गैरकृषि र कृषि मिश्रित वडा घोषणा गरिएको छ। आवासीय क्षेत्र घोषणा गरिएको वडाहरूमा धनगढी उपमहानगरपालिकाले कृषिमा अनुदान वितरण गरेको छैन।
धनगढी उपमहानगरपालिकाका कृषि शाखा प्रमुख लोकराज उपाध्यायले गैरकृषि क्षेत्रमा अनुदान वितरण नगरेको बताए। उनले भने, ‘पूरा कृषि भएको १७ नम्बर मात्र हो। १, २,३,४,५, ११ र १३ पूर्ण गैरकृषि हो। यी वडाहरूमा हामीले कुनै अनुदान दिएका छैनौ।’
धनगढी उपमहानगरपालिकाले आवासीय क्षेत्र घोषणा गरेपछि किसानले अनुदान नपाएका हुन्। उनीहरूले धनगढी उपमहानगरपालिका, सुदूरपश्चिम प्रदेश सरकार तथा सङ्घीय सरकारबाटसमेत अनुदान पाएका छैनन। धनगढीको बजार क्षेत्रका वडाहरूमा लामो समयदेखि व्यवसायी कृषि गर्दै आएका किसानसमेत समस्यामा परेका छन्। धनगढी उपमहानगरपालिका वडा नम्बर ५ का किसान सोनु चौधरीले प्रदेश र स्थानीय तहले बजार क्षेत्र भएको भन्दै अनुदान नदिएको उनले बताइन।
धनगढी उपमहानगरपालिकाको कार्यपालिकाले आवासीय क्षेत्र घोषणा गरेका वडाहरूको जग्गाको मूल्य भने वृद्धि भएको छ। उपमहानगरपालिकाले आवासीय क्षेत्र घोषणा गरेकाले जग्गाको कित्ताकाट हुँदै बिक्री बढेको हो। तर, लामो समयदेखि व्यवसायी कृषि गर्दै आएका नागरिक पलायन हुने जोखिममा रहेका छन। सरकारले आवासीय क्षेत्रका किसानलाई सहयोग नगर्ने भएपछि किसान संकटमा देखिएका हुन्। उपाध्यायले भने, ‘गैरकृषि क्षेत्रमा हामी अनुदान दिएका छैनौ। काम त, उहाँहरूले कृषिमा गर्दै आउनु भएको छ। तर, हामीले अनुदान नदिने गरेका छौ।’
धनगढीका वडा नम्बर १ र ४ लाई गत असारमा पहिलो पटक आवासीय क्षेत्र घोषणा गरिएको थियो। वडा कार्यालयको सिफारिसका आधारमा अन्य वडाहरूलाई समेत आवासीय क्षेत्र घोषणा गरिएको हो।