सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा दोस्रो चरणको खोला नाला अतिक्रमण हटाउने अभियान सुरु

२०८० फाल्गुन ९, १०:५३ नारायण अवस्थी

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिकाले दोस्रो चरणको खोला–नाला अतिक्रमण हटाउने अभियान थालेको छ। वडा नम्बर २ को बैयाबेहडीबाट अतिक्रमण हटाउन सुरु गरिएको हो।

धनगढी उपमहानगरपालिकाले गत वर्ष पहिलो चरणमा करिब ७ किलोमीटर खोला–नालाको अतिक्रमण हटाएको थियो। यो वर्ष दोस्रो चरणको अतिक्रमण हटाउने अभियान थालेको हो। बैयाबेहडी नालाको बाँकी रहेको अतिक्रमण हटाइएपछि वडा नम्बर १ र ८ का खोलाहरूमा गरिएको अतिक्रमण हटाउने तयारी उपमहानगरपालिले गरेको छ। गत वर्ष खाली गरिएको केही स्थानमा पुनः अतिक्रमण गरिएको पाइएकाले ती ठाउँमा अतिक्रमण हटाउन लागेको खर्च अतिक्रमणकारीबाट असुल गर्ने तयारी उपमहानगरले गरेको छ। ‘धनगढी उपमहानगरपालिकाले दोस्रो चरणको खोला नाला अतिक्रमण हटाउने अभियान थालेको छ। वडा नम्बर २ को बैयाँबेहडी नालाबाट अतिक्रमण हटाउन सुरु गरिएको छ,’ डिभिजनल इन्जिनियर दिजराज भट्टले भने।

धनगढीमा सुरुमा वडा नम्बर ५ भएर बग्ने सुकुटी नालाको अतिक्रमण हटाइएको हो। गत वर्ष वडा नम्बर २ का दुई नालामा गरिएको अतिक्रमण हटाउने र वडा नम्बर ३ र ४ को केही क्षेत्रमा नहर, कुलो र नालामा गरिएको अतिक्रमण खाली गरिएको थियो। गत वर्ष बर्खा लागेपछि रोकिएको अतिक्रमण खाली गर्ने काम खोलामा पानी घटेसँगै सुरु गरिएको डिभिजनल इन्जिनियर भट्टले बताए।

धनगढी उपमहानगरपालिकाले यो वर्ष क्याम्पस रोड नाला र शिवनगर हुँदै जिल्ला प्रहरी कार्यालय भएर बग्ने नालाको अतिक्रमण खाली गर्ने योजना बनाएको छ। गत वर्ष खाली गरिएको क्षेत्रमा पुनः अतिक्रमण गरिएको भए त्यो पनि खाली गरिने भएको छ। दोस्रोपटक अतिक्रमण खाली गर्नुपरे अतिक्रमणकारीबाट नै अतिक्रमण हटाउन लाग्ने खर्च समेत असुल गरिने डिभिजनल इन्जिनियर भट्टले बताए। ‘गत वर्ष खाली गरिएको केही ठाउँमा फेरि अतिक्रमण गरिएको हाम्रो नोटिसमा आएको छ। यो पटक त्यो अतिक्रमण पनि हटाइने छ। दोस्रो पटक अतिक्रमण हटाउन भएको खर्च अतिक्रमणकारीबाट असुल गरिनेछ,’ भट्टले भने।

धनगढी नगर विकास समितिले विगतमा वडा नम्बर १ देखि ५ सम्मको ९३२ बिघा सार्वजनिक जग्गा विभिन्न समयमा व्यक्तिलाई बिक्री गरेको थियो। यसरी सार्वजनिक जग्गा बिक्री गर्दा खोला समेत नापेर बिक्री गरेको देखिन्छ। धनगढीको धेरैजसो स्थानमा खोला किनारमा जग्गा भएकाहरूबाट अतिक्रमण गरिएको उपमहानगरले बताउँदै आएको छ। यो वर्ष सार्वजनिक तालहरूमा भएको अतिक्रमण पनि हटाउने काम भइरहेको डिभिजनल इन्जिनियर भट्टले बताए।

 

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस