सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्रीले उद्धघाटन गरेको सहजपुर–बोगटान सडकको काम प्रभावित

२०७६ जेठ १, ०७:२७ नवराज पनेरु

निर्माण सुरु भएको ३४ बर्ष सम्म पनि सहजपुर–बोगटान सडकको वातावरणीय प्रभाव मुल्याङकन तयार नहुँदा अहिले सडक निर्माणको काम प्रभावित भएको छ। फागुनमा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्वघाटन गरेको उक्त सडकको वातावरणीय प्रभाव मुल्याङकन नै तयार नभएपछि अहिले निर्माणको कार्य प्रभावित भएको हो। सहजपुरदेखि ५० किलोमिटर सडक कालोपत्रेका लागि ठेक्का सम्झौता भएकोमा झण्डै ४० किलोमिटर सडक वन क्षेत्रमा पर्ने भएकाले स्तरवृद्धीको काम समेत प्रभावित भएको निर्माणको जिम्मा पाएको पीआरएल कुमार जेभीका योजना व्यवस्थापक ईश्वर बस्नेतले बताए। 

५० किलोमिटर सडक कालोपत्रेका लागि २ अर्व ५ करोड बढिमा ठेक्का सम्झौता भएपनि ४० किलोमिटर क्षेत्र वनमा पर्ने भएकाले समस्या भएको उनले बताए। वातावरणीय प्रभाव मुल्याङकन समेत तयार नहुँदा सडक क्षेत्रमा पर्ने रुख कटानीको आदेशका लागि प्रक्रिया समेत अगाडी बढेको छैन्। कालोपत्र गर्नका लागि नौ मिटर चौडा सडक आवश्यक पर्ने भएकाले यसअघि नै ट्रयाक खोलिएको सडकमा डबलकटिङ आवश्यक छ। डबलकटिङ गर्दा स्थानीयका घर, खेतबारी तथा जमीनमा लगाइएको बाली नोक्सानी हुन थालेकाले कैलाली र डोटी क्षेत्रका वासिन्दाले मुआब्जा माग गर्दै आएका छन्। 

तर वातावरणी प्रभाव मुल्याङकन बनाउने कार्य अन्तिम चरणमा पुगेकाले चालु आर्थिक बर्षभित्रै तयार हुने दावी सहजपुर–बोगटान सडक आयोजनाकी प्रमुख कल्पना अधिकारीको छ। सहजपुरदेखि बागछेडा सम्म ५० किलोमिटर सडक ३० महीनाभित्र कालोपत्र गरिने लक्ष्यअनुसार ठेक्का सम्झौता भएको छ। शिलन्यास भएको ३४ बर्षसम्म पनि सहजपुर–बोगटान सडकको अवस्था निकै दयनिय भएपछि कालोपत्रेको योजना ल्याईएको थियो। चालु आर्थिक बर्षभित्रै वातावरणीय प्रभाव मुल्याङकन भए र रुख कटानीको आदेश पनि समयमै आए ३० महिनामा निर्माण सकिने दावी आयोजनाकी प्रमुख अधिकारीको छ।

२०४२ सालमा शिलन्यास गरिएको सडकक प्रधानमन्त्रीले उद्धघाटन गर्दा विवादमा समेत आएको थियो। पटक–पटक उद्धघाटन गर्ने तर निर्माण नहुने भन्दै स्थानीय वासिन्दाले समेत विरोध जनाएका थिए। सो सडक निर्माण भएमा डोटीका दक्षिण पुर्वी क्षेत्रमा रहेका कृषि उपजहरुले बजार पाउनुका साथै स्थानीय वासिन्दाहरुको जीवनस्तरमा सुधार आउने आशा गरिएको छ। 
 

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस