सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रिय मावि सुखडको जग्गा खाली गर्न अर्काे सूचना

फोटो : कैलाली खबर
फोटो : कैलाली खबर
२०८० फाल्गुन ३, ०४:५५ खबर संवाददाता

धनगढी : कैलालीको राष्ट्रिय मावि सुखडको जग्गा खाली गर्न अर्काे सूचना सार्वजनिक गरिएको छ। जिल्लाको घोडाघोडी नगरपालिका–१ सुखडमा रहेको राष्ट्रिय माध्यमिक विद्यालयले बजारको पूर्व पट्टिमा रहेको कित्ता नं.२५१ मा निमार्ण गरिएका अस्थायी घर टहरा हटाउन ३५ दिने सूचना सार्वजनिक गरेको हो।

विद्यालयको नाममा दर्ता स्रेस्ता कायम रहेको कित्ता नं.२५१ ७ घ को १–१२–२ क्षेत्रफलमा निर्माण गरिएका अस्थायी घर टहरा तथा विभिन्न संरचना आफ्नै तरिकाले हटाउन ३५ दिने अल्टिमेटम सहित सूचना प्रकाशित गरेको छ।

सो क्षेत्रमा फैलिएको जमिनमा विद्यालयले आफ्नै लगानीमा बहुउद्‍देश्यीय व्यापारिक भवन निर्माण गर्ने सूचनामा उल्लेख गरिएको छ। हाल व्यापार व्यवसाय गर्दे आएका व्यापारीहरूलाई नै पहिलो प्राथमिकता राखी व्यापार व्यवसाय सञ्चालन गर्न आर्थिक ऐन नियम र विद्यालयको नियमानुसार दिने समेत सूचना भनिएको छ।

बहुउद्‍देश्यीय व्यापारिक भवन निर्माण गर्ने भएकाले सो कित्ता नम्बरमा अस्थायी घर टहरा बनाई बस्नु भएकाहरूलाई सूचना प्रकाशित भएको ३५ दिन भित्र सो जग्गा खाली गरी सहयोग गरिदिन हुन सबैमा आग्रह गरेको छ। विद्यालय व्यवस्थापन समितिको फागुन ३ गते बसेको बैठकले उक्त निर्णय गरेको हो।

सूचनामा विद्यालयले घोडाघोडी नगरपालिका, वडा नम्बर १ को कार्यालय, इलाका प्रशासन कार्यालय सुखड, इलाका प्रहरी कार्यालय सुखड, जिल्ला प्रशासन कार्यालय धनगढी र जिल्ला समन्वय समिति कैलालीलाई बोधार्थ समेत लेखेको छ।

यस अधि विद्यालयको नाममा दर्ता स्रेस्ता कायम रहेको ८ कट्ठा क्षेत्रफल भएको कित्ता नं.९७ मा निर्माण गरिएका अस्थायी घर टहरा तथा विभिन्न संरचना आफ्नै तरिकाले हटाउन ३५ दिने अल्टिमेटम सहित सूचना प्रकाशित समेत गरेको थियो। सूचना प्रकाशित भएको फागुन १४ गते ३५ दिन पुग्दै छ। उक्त कित्ता नम्बरमा आवासीय विद्यालय अन्तर्गत प्राप्त अनुदानबाट निर्माण गर्ने छात्रावास, चमेनागृह र थेरापी भवन निर्माण गरिनेछ।

कमेन्ट लोड गर्नुस