सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा पूर्वप्रहरी पत्रकारदेखि नेतासम्मै पक्राउ, पाँच जना प्रहरी हिरासतमा

२०८० फाल्गुन २, ०६:३३ खबर संवाददाता

वीरेन्द्र भट्ट, धनगढीः कञ्चनपुरमा विद्युतीय अपराधको नाममा पुर्वप्रहरी, पत्रकारदेखि नेतासम्मै धमाधम पक्राउ पर्न थालेका छन्।

जिल्ला अदालतबाट जारी भएको पक्राउ पुर्जीका आधारमा कञ्चनपुर प्रहरीले नेतादेखि पुर्व प्रहरीसम्मै पक्राउ गर्न थालेको हो। आज (बुधबार) मात्र प्रहरीले थप एक जनालाई विद्युतीय अपराधको आरोपमा पक्राउ गरेको छ। भीमदत्त नगरपालिका–१७ का चन्द्रकान्त भट्टलाई प्रहरीले पक्राउ गरेको हो। 

अनुसन्धानका लागि भन्दै उनलाई नियन्त्रणमा लिएको कञ्चनपुर प्रहरीले बताएको छ। भट्ट माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटी सदस्यसमेत हुन्। सोमबार मात्र कञ्चनपुर प्रहरीले भीमदत्त नगरपालिक–१८ का कर्णबहादुर चन्द र भीमदत्त नगरपालिका–१६ का दशरथ धानुकलाई पक्राउ गरेको थियो।

चन्द पूर्व प्रहरी हवल्दार समेत हुन्। प्रहरीले शनिवार पत्रकार ऐश्वर्य कुँवर र पुष्कर भट्टलाई समेत पक्राउ गरेको थियो। बुधबारसम्म जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले विद्युतीय अपराधको आरोपमा पाँच जनालाई पक्राउ गरिसकेको छ। पक्राउ परेका पाँचै जनालाई प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्ने काम भइरहेको प्रहरीले बताएको छ।

अदालतबाट म्याद थप गरी अनुसन्धान गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकाश डाँगीले बताए। तर पत्रकार कुँवर र भट्टलाई प्रहरीले नियन्त्रणमा लिएको विषयमा नेपाल पत्रकार महासंघदेखि अन्य पत्रकार हकहितका लागि गठित संगठनहरुले प्रेस विज्ञप्ति नै जारी गरिसकेको भए पनि त्यसको सुनुवाई भएको छैन्।

कमेन्ट लोड गर्नुस