धनगढी–दिपायल फास्ट ट्रयाकः ‘सुरुङ–मार्ग’ बनाउन १३ अर्ब ४० करोड लाग्ने
वीरेन्द्र भट्ट, धनगढीः आर्थिक वर्ष २०७५/७६ को बजेट वक्तव्यमा संघीय सरकारले धनगढी–दिपायल सडकमा ‘सुरुङ–मार्ग’ निर्माण गर्ने उल्लेख गरेको थियो।
‘खुटिया–वीपीनगर–दिपायल सडकलाई सर्वेक्षण गरी सुरुङ मार्ग निर्माण प्रारम्भ गरिने’ बजेटमा उल्लेख थियो। तर काम भने अघि बढ्न सकेको थिएन्। आर्थिक वर्ष २०७७/७८ मा पुनः बिपिनगर–खुटिया–दिपायल खण्ड सुरुङ मार्गको अध्ययनका लागि भन्दै ५० लाख बजेट नै विनियोजन गरिएको हो। सो बजेट अध्ययनको नाममा खर्च भएको छ। नेताहरुको भाषण र बजेट पुस्तिकाबाहेक सुरुङमार्गका लागि थप काम भने अघि बढेको छैन्।
सो क्षेत्रको भु–बनोट, माटोको अवस्थालगायतको आधारमा सुरुङमार्ग बन्ने हो। तर अध्ययन अनुसन्धानको नाममा विनियोजन गरिएको बजेट खर्चे गर्ने काम मात्र भएको छ। तराई–पहाडलाई छोटो दूरीमा जोड्ने योजनासहित आर्थिक वर्ष २०६६÷६७ बाट सो सडकको निर्माण थालिएको हो। सुरुमा खुटिया–वीपीनगर–दिपायल जोड्ने गरी ८२ किलोमिटरबाट थालिएको योजना अहिले धनगढी (हसनपुर) देखि खुटियासम्म पनि थपिएको छ।
सो सडकलाई सुदूरपश्चिममा ‘समृद्धिको सेतु’को रुपमा पनि व्याख्या गरिँदै आएको छ। सडकको दूरी घटाउन र सहजताका लागि सुरूङ बनाइने गरिन्छ। बीपीनगर–खुटिया–दिपायल खण्डमा सुरुङमार्ग निर्माणका लागि सम्भाव्यता अध्ययन तथा विस्तृत परियोजना प्रतिवेदन तयार गरिने सरकारी लक्ष्यअनुसार अध्ययन भए पनि बजेटको टुंगो छैन्। राजनीतिक दबाबका भरमा बजेटले धान्नै नसक्ने गरी सुरुङमार्गहरूको सम्भाव्यता अध्ययन गरेर थन्क्याइएको छ।
गत आर्थिक वर्ष २०७९/८० मा अध्ययन सकिएको खुटिया–बीपीनगर–दिपायल सुरुङमार्ग अध्ययनमै सीमित छ। ७ दशमलव शून्य १ किलोमिटर दूरी रहेको उक्त सुरुङमार्गको थप काम अघि बढ्न सकेको छैन। सुरुङमार्ग निर्माण गर्न १३ अर्ब ४० करोड ७२ लाख लागत अनुमान गरिएको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका निर्देशक नरेशमान शाक्यले बताएका छन्। संघीय सरकारले चालु आर्थिक वर्षका लागि खुटिया–दिपायल–चैनपुर–उरैभन्ज्याङ्ग सडक निर्माणका लागि २५ करोड मात्र बजेट विनियोजन गरेको छ।