सुदूर नेपाललाई विश्वसँग जोड्दै

इजरायली हवाई आक्रमणबाट रफाहमा १०० जनाको मृत्यु 

२०८० माघ २९, ०४:३८ खबर संवाददाता

एजेन्सीः  इजरायली सेनाले गाजाको रफाह सहरका विभिन्न स्थानमा गरेका आक्रमणमा करिब एकसय प्यालेस्टिनी मारिएका छन्।

मृत्यु हुनेमध्ये कैयौं बालबालिका तथा महिला छन्। प्यालेस्टाइनको रेड क्रेसन्ट सोसाइटीले रफाहमा भीषण आक्रमण गरिएको र कम्तीमा सय जनाको ज्यान गएको जनाएको छ। हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले भने ६७ जनाको मृत्यु भएको पुष्टि गरेको छ। रफाहमा हाल कम्तीमा १५ लाख मानिसले आश्रय लिएका छन्। तीमध्ये अधिकांश मानिसहरू गाजाका अन्य ठाउँबाट भागेर त्यहाँ पुगेका हुन्।

रफाहमा भएका मानिसहरू अब जाने कुनै पनि सुरक्षित ठाउँ नरहेको बताइएको छ। इजरायली सेनाले आक्रमणपछि रफाह सहरबाट हमासले बन्धक बनाएका दुई इजरायली पुरुषलाई मुक्त गरिएको जनाएको छ। इजरायल डिफेन्स फोर्सेज (आइडीएफले) ले मुक्त भएका बन्धकहरू फर्नान्डो साइमन मार्मन र लूइ हारको स्वास्थ्य अवस्था राम्रो रहेको जनाएको छ।

रफाह सहरमा आक्रमण गरेको जनाए पनि इजरायलले विस्तृत विवरण भने सार्वजनिक गरेको छैन। हमासले अक्टोबर ७ मा दक्षिणी इजरायलमा आक्रमण गरेयता गाजा क्षेत्रमा तनाव बढेको छ। 
 

कमेन्ट लोड गर्नुस