सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा ‘छोरीलाई अंश र वंशमा समान अधिकार’ अभियान सुरु

२०८० माघ २८, १२:२२ खबर संवाददाता

धनगढीः कैलालीमा ‘छोरीलाई अंश र वंशमा समान अधिकार’ अभियान सुरु भएको छ। नेपालको संविधान, २०७२ ले छोरा र छोरीलाई समान व्यवहार र हकको व्यवस्था गरिएको भन्दै कार्यान्वयनका लागि अभियान सुरु गरिएको हो।

कैलालीको समाजमा छोरा र छोरीबिच विभेद कायमै रहेकाले अभियान सञ्चालन गरिएको अभियानकर्ताहरूको तर्क छ। धनगढी उपमहानगरपालिकाको महिला तथा बालबालिका शाखा अधिकृत पंकजा जोशीले श्रमिक महिला दिवसको अवसरमा कैलालीबाट सो अभियान सुरु भएको बताइन्।

संविधानको धारा १८ समानताको हक, उपधारा ५ मा पैतृक सम्पत्तिमा लैंगिक भेदभावबिना सबै सन्तानको समान हकको व्यवस्था छ। त्यसै गरि धारा ३८ को उपधारा १ प्रत्येक महिलालाई लैङ्गिक भेदभाव बिना समान वंशीय हकको व्यवस्था छ। तर, अहिलेसम्म त्यो व्यवस्था कार्यान्वयन भने नभएको जोशीले बताइन्।

सो व्यवस्था कार्यन्वयनको लागि सम्बन्धित निकायलाई दबाब दिन धनगढी उपमहानगरपालिकाको बैठक कक्षमा बैठक बसी अभियान सञ्चालन गर्ने निर्णय गरेको हो। अभियानले कैलालीमा कार्यान्वयन गरेका अभिभावकलाई सम्मान समेत गर्ने उदेश्य राखेको छ ।

मुलुकी देवानी संहिताको दफा २०५ मा छोरीलाई अंसियार मानेको छ। सन्तान समान हुनका लागि यी हकहरूको प्रयोग अनिवार्य रहेको गोमा अर्चाय बताउँछिन्। छोरीलाई दयाले होइन सम्मानसाथ आफ्नो वंश स्विकार्न सके संसार सुन्दर हुनेछ।

 

कमेन्ट लोड गर्नुस