नक्कली टिकट प्रकरण: अध्यक्षहरू फरार
धनगढीः कैलालीको अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष कल्याण बोहरा र पूर्व अध्यक्ष अशोकराज देवकोटा फरार भएका छन्।
जिल्ला प्रहरी कार्यालय, कैलालीमा नक्कली टिकट प्रकरणमा उनीहरूको समेत नाम जोडिएपछि दुबै जना फरार भएका हुन्।संघका वर्तमान अध्यक्ष बोहरा र पूर्व अध्यक्ष देवकोटाको नाममा पक्राउ पुर्जी जारी भएपछि उनीहरू फरार भएका छन। कैलाली प्रहरीका प्रवक्ता कुलदिप चन्दले उनीहरु सम्पर्कमा नरहेको बताए। उनले भने, ‘घटना अनुसन्धानको चरणमा रहेको छ। उहाँहरू सम्पर्कमा आउनु भएको छैन।’
सुदूरपश्चिम प्रादेशिक महोत्सव, अत्तरियामा नक्कली टिकट विक्री गरेको आरोप लागेका चार जना प्रहरीको हिरासतमा रहेका छन्। अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष बोहरासहितको टोलीले महासचिव शंकर खड्कासहित चार जना विरुद्ध किटानी जाहेरी दिएका थिए। अध्यक्ष बोहराको नामसमेत नक्कली टिकट प्रकरणमा जोडिएपछि उनीहरू फरार भएका हुन्। प्रादेशिक महोत्सवमा २८ वटा ठेली नक्कली टिकट बिक्रीका लागि राखिएको फेला परेका थिए।
ठेली छपान गर्ने बमबहादुर बोगटी, रुजु गर्ने अत्तरिया उद्योग वाणिज्य संघका महासचिव शंकर खड्का, सचिव दिलिप साउँद, बिक्रीको जिम्मा पाएका दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका स्ववियु सभापति भुवन महरा प्रहरीको हिरासतमा रहेका छन्। प्रादेशिक महोत्सवमा एक लाख ४० हजारको नक्कली टिकट बिक्रीका लागि ठेली छपान गरिएको फेला परेको छ। दुर्गालक्ष्मी बहुमुखी क्याम्पस, स्ववियुले प्रतिटिकटमा २ रुपैयाँ पाउने सम्झौतामा बिक्रीको काम गरेको थियो।
रेडक्रसले समेत एक रुपैयाँ पाउने सम्झौता भएको थियो। तर, उद्योग वाणिज्य संघका महासचिव शंकर खड्काले २८ वटा नक्कली ठेली नियन्त्रणमा लिएपछि घटना प्रहरीमा पुगेको हो। २ ठेली पूर्ण विक्री भएको, एकबाट १७ वटा, अर्काेबाट १३ र अर्काेबाट ६ वटा टिकट बिक्री भएको अवस्थामा आयोजकले टिकटका ठेली नियन्त्रणमा लिएको थियो। जसमध्ये एक सय ३६ वटा नक्कली टिकट महोत्सवमा बिक्री भएका थिए। अत्तरिया उद्योग वाणिज्य संघमा मिलापत्र नभएपछि घटना प्रहरीमा आएको हो। प्रहरीले नक्कली टिकट प्रकरणको घटनामा अनुसन्धान गर्दैछ।