सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा सुत्केरी भएका बेला शिशु सहित गोठमा बस्नुपर्ने महिलाको बाध्यता

२०७६ वैशाख ३०, ०६:२५ प्रकाश सिंह

बाजुरामा एक सुत्केरी महिला १७ दिनदेखि शिशु सहित गोठमा बस्दै आएको भेटिएको छ। जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका वडा नम्बर ५ की धर्मा बुढा १७ दिनदेखि गाई गोठमा बसिरहेकी छन्। झ्याल समेत नरहेको गोठमा निसासिएर बस्दै आएको गुनासो बुढाले गरेकी छन्। सानो ढोका भएको गोठको झ्याल नभएकै कारण अध्यारो हुँदा दिउँसो समेत बत्ति बालेर प्रवेश गर्नुपर्ने बाध्यता छ भने  त्यही गोठमा एकातीर गोरु अर्को छेउमा कुखुराको रहेको छ।

छेउमै उनी र नवजात शिशु बस्ने गरेका छन्। सुत्केरी भएका बेला घरमा राख्नु हुदैन भन्ने अन्धविश्वासकै कारण परिवारले एक महिनाका लागि गोठमा बसालेको बुढाले गुनासो गरिन्। बुढा मात्र नभएर जिल्लाको स्वामीकार्तिक गाउँपालिका ५ कै सुरिन्द्रा कठायत पनि सुत्केरी शिशु सहित एक महिनाका लागि गोठमा बस्दै आएकी छन्। वाई स्वास्थ्य चौकीमा छोरा जन्माएकी कठायतले पनि परिवारकै कारण गाई गोठमा बस्नुपरेको छ।

जिल्लाको हिमाली गाँउपालिका ६ की नन्दसरा सार्कीले पनि शिशु जन्मेको एक महिना सम्म गोठमै बसेको  गुनासो गरेकी छन्। उनले अहिले जन्मेको शिशु सहित यसअघिका पाँच शिशु पनि एक महिना सम्म गोठमै हुर्काएको बताईन्। सोही क्रममा यसअघि गोठमै दुई शिशुको मृत्यु भइसकेको सार्कीले बताईन्। यस्तै बाजुराका पुर्वउत्तरी क्षेत्रका अधिकांश महिलाहरु सुत्केरी भएको बेला गोरु गोठमा बस्ने गरेका छन्।

जिल्लाको हिमाली, स्वामीकार्तिक खापर, जगन्नाथ गाउँपालिका र बुढिनन्दा नगरपालिकाका सुत्केरी महिला गोठमा बस्दै आएको स्वास्थ्यकर्मीले वताएका छन् । रुगिन स्वास्थ्य चौकीका अहेब धन बहादुर फडेराले बाजुराका महिलाहरु सुत्केरी भएका बेला गोठमा बस्दै आएपछि आमा र बच्चालाई विभिन्न रोगको संक्रमण हुने गरेको बताए। सरकाले स्वास्थ्य संस्थामा प्रसुती हुने महिलाका लागि प्रोत्साहन भत्ताको व्यवस्था गरेपनि बाजुरामा अन्धविश्वासका कारण सुत्केरी महिलालाई गोठमा राख्ने क्रम हटेको र्छैन्।  

सरकारले कर्णाली प्रदेशका पाँच जिल्ला र सुदूरपश्चिमको बाजुरामा स्वास्थ्य संस्थामा प्रसुती हुन आउने महिलालाई प्रोत्साहन स्वरुप तीन हजार, नियमित गर्भ जाँच गराए वापत आठ सय गरी ३८ सय र शिशुलाई न्यानो कपडाको व्यवस्था गरेको छ। स्थानीय तहहरुले समेत प्रसुती महिलालाई गाई गोठमा बसाल्नु नहुने भन्दै जनचेतना फैलाए पनि कमी नआएको दावी गरेका छन्। स्वामीकार्तिक खापर गाउँपालिकाका अध्यक्ष चिरिञ्जीवि शाहीले गोठमा बस्नु नहुने विषयमा सचेत गराउँदै आएपनि न्युनिकरण नभएको बताए।  
 

प्रकास सिह दिनेश खवरका बाजुरा संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस