सुदूर नेपाललाई विश्वसँग जोड्दै

ग्रामीण जीवनमा आएको आधुनिकता

२०८० माघ २८, ०७:०३

मान सिंह धामी (भौनबाटी) : आफूपनि गाउँमा जन्मेको, गाउँमै हुर्केको, गाउँकै विद्यालयमा पढेको र गाउँकै मानिसहरूसँग हातेमालो गरेको गाउँले भएकोले विगतको गाउँले जीवन र अहिलेको गाउँले जीवनमा धरै भिन्नता पाएको महसुस गरेको छुँ । गाउँले जीवनको कुरागर्दा कताबाट कसरी सुरु गर्ने ? केहि अडकलभने आइरहेको छैन् । गाउँको घरको चुलोचौकीबाट सुरुगर्न चाहे । उहिले गाउँमा प्रायः सबैको घरमा दुहुना भैंसी, एकहल गोरु, एक÷दुईवटा गाई, बाख्राहरू हुन्थे । गाउँका महिला दिदीबहिनीहरू, आामा, काकी, फूपू, बौजु, बौरानी, श्रीमती आदि सबैले सबेरै करिब ४ः०० बजेतिर आँखा मिच्दै उठेर जातो पिस्नु पर्दथ्यो । तत्पश्चात झिसमिसेमा गोठको मल (पर्साे) हाल्ने, आगन (खलो) बढार्ने गर्दथे । गाईभैंसी दुहुनु पर्दथ्यो । पुरुष जातिभने भलादमी पारामा बिहान ६ः०० बजेसम्म घुरेर सुतेका हुन्थे । धन्य हामी पुरुष जाति महिलाको पीडा नबुझ्ने । अनि चुलोचौकी गर्ने, कलेउ पकाउने र हतार हतारमा खाएर पटुकी बाधी आँचलमा गेडा खाजा बोकेर आँसी ज्यौडो र आँसी कार्ने ढुङ्गा सहित बोकेर वनजंगल जाने गर्दथे ।

आधुनिक ग्रामीण जीवनको कुरागर्दा हामी पुरुषहरूपनि महिलाको पीडा बुझ्ने भएका छौं । गाउँका घरहरूमा गाईभैंसी बिरलै देखिन्छन् । हलगोरुपनि कमै देखिन्छन् । जातो पिस्ने कामलाई पूर्णरुपमा निरुत्साहित गरिएको छ । गाउँगाउँमा चक्कीहरू रहेका छन् । गाउँमा पानीघट्टको प्रयोग पनि कम हुँदै गएको देखिन्छ । महिलाहरूले बिहानै ४ः०० बजेतिर आँखा मिच्दै उठन छोडिसकेका छन् । गाईभैंसी, हलगोरु, बाख्रा नभएपछि मलपर्साे सोर्ने कुरा भएन । बिहानै उठेर कलेउ खाएर गेडागुडी, आँसी, ज्यौडोको तामझाम सहित वनजंगल जाने कुरापनि भएन । अहिलेका ग्रामीण महिलाहरूको हातहातमा मोबाइल छन् । हामी पुरुष जस्तै बिहान ६ः०० बजेसम्म घुरेर सुत्ने गर्दछन भन्दा अतिशयोक्ती नहोला । यस लेखमा जे कुरा लेखिएपनि महिलाहररूलाई म सम्मान गर्दछु ।

पहाडी ग्रामीण समुदायमा मकै, कोदो, फापर लगायतका बालीहरूको उत्पादन बढीहुने र धान, गहुँको उत्पादन कम हुनेहुँदा मकैको रोटी, फापरको साग तथा हरियो धनिया र खुर्सानी हालेको नुन र भैंसीको छाईँसित मज्जाले दिनको सबै छाक टार्ने गर्दथे । अहिले एकछाक दालभात, तरकारी र बिहान साँझ गहुँको रोटी तरकारी नखाने मान्छे भेटाउन गाह्रो छ । मकैलाई त गाईभैंसी भएका घरमा ओखलमा कुटेर खोलानी (पिंडो) बनाउने काम बाहेक अरु प्रयोजन देखिदैन ।

परम्परागत ग्रामीण समुदायमा झोरो दाउरा नभएमा चुल्हो बल्दैनथ्यो, अहिले गाउँका कतिपय घरहरूमा झोरो दाउराको चलन हट्दै गएको देखिन्छ । अहिले ग्यास चुल्हो र विद्युतिय चुल्होको प्रयोग हुन थालेको छ । घरमा उज्यालोकोलागि प्रयोग गरिने झोरो, लैम्प, दियो, लालटिन, गैस पूर्णरूपमा विस्थापित हुँदै गएको छ । घरघरमा झिलिमिली वत्तीहरू जडान गरिएका छन् । ओडने ओछ्याउने सुत्ने तरिकामा पनि व्यापक परिवर्तन भएको छ । परालबाट निर्मित फिनी र दरी कुनपनि घरमा देख्न सकिदैन । अहिले सुकिला खोल हालेका सिरक र गद्दाहरू गाउँका सबै घरहरूमा छन् ।

यतिमात्र होइन हजुर ! घरमा पाहुना, इष्टमित्र अतिथि आउँदा गरिने सत्कारको तरिकामा पनि परिवर्तन भएको छ । उहिले घरमा पाहुना आउँदा सेलरोटी, माणा, हलुवा, खीर, घिउभात आदिको परिकारले अतिथि सत्कार हुन्थ्योभने अहिले अतिथि सत्कारकोलागि दुईखुट्टे वा चारखुट्टे पशुपंक्षीको मासु, भोडका बियर र सूर्य शिखर चुरोटले स्वागत गरिन्छ । रोपाई प्रसाईं हुँदा पत्थने रोटी, केराको पातमा राखेको घिउ, तरकारी, मह, केरा, पिंडालु, गिठा, साँझको सेलरोटीको चलनपनि हट्दै गएको देखिन्छ । बरु एकगास रोटी र भोडका बियर मासुभए पुग्ने भएको छ ।

वर्षातमा पानीबाट बच्न मालुको पातबाट निर्मित पातलोको प्रयोग पूर्णरूपमा हराएको छ । यसको बदलामा आधुनिक छाताहरूको प्रयोग गरिएको देख्न सकिन्छ । हलो जोत्दा नाङ्गो खुट्टा र कच्छा लगाउने चलनपनि हटिसकेको छ । बरु आधुनिक कुर्ता पैजामा र जुत्ता लगाएर हलो जोत्ने गरिन्छ । उहिले गाउँमा नुहाउन, लत्ताकपडा धुन प्रयोग गरिने रिठा, पिना, अटिन्नेको जरालाई विस्थापित गरेर आधुनिक बासनादार लिरिल, लक्स, लाइफबाय आदि साबुनको प्रयोग गरिन्छ । गाउँमा चियासँग गुड, मिस्रीको ठाउँमा आजभोली गाउँमापनि चिनी मिश्रित चियाको स्वाद चाख्न पाइन्छ । तोरी, सर्साें, चिउरी आदिको तेल निकाल्न प्रयोग गरिने परम्परागत कोल्हुको बदलामा मिलबाट तेल निकाल्ने चलन बढदो छ ।बन्ढी, काच्छा र ठाडी धोतीमा सजिने गाउँका बुढापाकाहरू अचेल कुर्ता पैजामा, दौरा सुरुवाल, ढाका टोपीको सुकिलो पोशाकमा देख्न सकिन्छ । मकै भाँचेर उधाडेर घाममा सुकाइ भकारीमा हाल्ने चलन हटेर आजभोली पहाडका प्रायः सबै घरहरूमा मकैका लुटाहरू देख्न सकिन्छ ।

उहिले गाउँमा दिसापिसाब गर्न जंगल, झाडी, झाङमा जाने गर्दथे । आजभोली गाउँका हरेक घरहरूमा पाइखाना देख्न सकिन्छ । दाँत माझ्न प्रयोग गरिने दतिवन, अंगारको बदलामा आजभोली सेन्सोडाइन, पेप्सोडेण्ट, कोलगेट ब्रुसको प्रयोग गर्ने गर्दछन् गाउँमा । यतिमात्र नभएर अहिले गाउँमा फास्टफुड, जङ्क फुडहरूको प्रयोग पनि बढिरहेको छ । उहिले गाउँमा केटाकोलागि कन्या खोज्न जान्थे र चिठा मिलाएर विवाह गर्ने गर्दथे, आजभोली मेसेञ्जर, फेसबुकको माध्यमबाट केटाकेटीको विवाहको चलन बढ्दो छ । पहिलेको २ दिने विवाहलाई १ (वानडे) दिनमा सिमित पारिएको छ । पहिलेको बेलीबटन पाइन्ट, एलटी जाकेट, कम्मरमा खुकुरी, कुरमुली, घाँटीमा दुबो र रुपैयाँको मालाको बदला आधुनिक महङ्गा तडकभडकका विवाह पोशाकलाई गाउँमा प्राथमिकतामा राखिएको छ ।

गाउँमा पनि दमाहा, झ्याली, विगुल सहितको पञ्चेबाजा र छलियाँ नाचको ठाउँमा आधुनिक बैण्ड बाजाको चलन भित्रिएको छ । पहिले विवाहमा डोली, तापदानी हुन्थ्योभने अहिले गाउँमा डोली, तापदानी देख्न पनि पाइदैन । गाडी, कारको बाहिर विवाह प्रणयका पोष्टरले सुसज्जित विवाह देख्न सकिन्छ । पहिले गाउँमा पुरुषमात्र विवाह जन्ती जाने गर्दथे भने अहिले नरनारीको जत्था नै जन्ती बरेती जाने गर्दछन् । गाउँमा कुनै मानिस बिरामीहुँदा वा मृत्युु हुँदा डाँको (ठुलो आवाज) लगाउने गर्दथे भने अहिले फोन, फेसबुक लगायतका सामाजिक सञ्जालबाट डाँको लगाउने (खबर गर्ने) चलन रहेको छ ।

पहिले गाउँमा महिलाहरू महिनावारी हुँदा वा सुत्केरी हुँदा छाउपडी गोठमा बस्ने गर्दथे भने आजभोली छाउपडी गोठमा बस्ने चलन हटेको छ । गोठमा सुत्केरी हुने चलन हटेर आजभोली स्वास्थ्य संस्थामा सुत्केरी गराउने चलन बढ्दो छ । पहिले सुत्केरी हुँदा नौ दिनसम्म शिशुको स्याहार स्वयम् सुत्केरी महिलाले गर्नु पर्दथ्यो भने आजभोली सुत्केरी र शिशुको स्याहार अरुले नै गर्दछन् । पहिलेका ग्रामीण महिलाहरूको पहिरन र अहिलेका ग्रामीण महिलाहरूको पहिरनमा व्यापक भिन्नता छ । पहिलेका ग्रामीण महिलाहरू घरधन्दामा पेटीकोट बाहिर लुङ्गीको पहिरन हुन्थ्यो भने अहिले पेटीकोट बाहिर लगाउने लुङ्गीको चलन पूर्णरूपमा हटिसकेको छ । अहिले ग्रामीण महिलाहरू अधिकजसो कुर्ता सुरुवाल र केही महिलाहरू मेक्सी लगाउने गर्दछन् घरधन्दाको काममा । परम्परागत चौबन्दी, गुन्यु चोलो र १२÷१४ पाटाको घाँघरो लगाउने चलन पूर्णरूपमा लोप भइसकेको छ । पहिले गाउँमा टाढाटाढाबाट तामाको गाग्रो (फोंलो) मा पानी बोक्नु पर्दथ्यो भने अहिले गाउँका प्रायः सबै घरहरूमा पानीका धाराहरू जडान गरिएका छन् ।

मान सिंह धामी (भौनबाटी)

मालिकार्जुन गाउँपालिका – ४ हुनैनाथ गोठ्युडी, कोटबुङा

दार्चुला

 

कमेन्ट लोड गर्नुस