सुदूर नेपाललाई विश्वसँग जोड्दै

भौतिक पूर्वाधार मन्त्रालयले उठायो करिब ९२ करोड राजश्व

सुदूरपश्चिम प्रदेश सरकारको एक वर्षे कार्यप्रगति

२०८० माघ २७, ०६:४५ नारायण अवस्थी

धनगढीः सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले एक वर्षमा करिब ९२ करोड राजस्व असुली गरेको छ।

साथै मन्त्रालयले पूर्वाधार विकासमा देखिने गरी प्रगति भएको दाबी समेत गरेको छ। सडक, सडकपुल, खानेपानी तथा सरसफाइ, उर्जा जलस्रोत तथा नदी नियन्त्रणमा काम भएको प्रदेश सरकारले आज (शनिबार) धनगढीमा सार्वजनिक गरेको एक वर्षे कार्यप्रगति विवरणमा उल्लेख छ। यसैगरी, सहरी विकास तथा भवन निर्माण र यातायात व्यवस्था क्षेत्रको सुधारका लागि नीतिगत काम भएको समेत मन्त्रालयले दाबी गरेको छ। 

भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रदेश सरकार गठन भएको एक वर्षमा ९१ करोड ६१ लाख राजश्व संकलन गरेको प्रगतिविवरणमा उल्लेख छ। सीमित स्रोतसाधनलाई प्रभावकारी रुपमा परिचालन गर्दै लक्षित प्रतिफल प्राप्त गर्न संभव भएको मन्त्रालयको दाबी छ।

आर्थिक वर्ष २०७९/८० को कार्यक्रममा रहेका पाँच हजार ३२९ आयोजनाको संख्या कटौती गरी आर्थिक वर्ष २०८०/८१ को कार्यक्रममा एक हजार ९६१ आयोजना अगाडि बढाउने गरी बजेट विनियोजन गरिएको भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवाले बताए। उनका अनुसार एक हजार ७५० क्रमागत र २१० आयोजना मात्रै नयाँ हुन्। सरकारले सम्भाव्यता अध्ययन भएका आयोजनाहरूमा मात्रै नयाँ योजनाका रुपमा अगाडि बढाउने नीति लिएको मुख्यमन्त्री कमलबहादुर शाहले बताए।

मन्त्रालयले १२२ दशमलव ९७ किलोमिटर माटे सडक, ग्राभेल सडक १८५ दशमलव ९० किलोमिटर र कालोपत्र सडक १०८ दशमलव १९ किलोमीटर निर्माण भएको जनाएको छ। यस्तै, ९ वटा सडकपुल निर्माण भएको र ५२० इन्टेक निर्माण भएको मन्त्रालयले जनाएको छ। सो मन्त्रालयले ५६३ वटा पानी पोखरी, २ हजार ५०५ किलोमिटर पाइपलाइन जडान र ८२ हजार ७०२ जनालाई आधारभूतस्तरको खानेपानी सेवा तथा १८ हजार ६ सय जनालाई मध्यमस्तरको खानेपानी सेवा विस्तार भएको छ।

मन्त्रालयले २०७ वटा नहरको निर्माण भएको, ५२ दशमलव २१ किलोमिटर तटबन्ध निर्माण भएर ७ हजार ३४५ हेक्टर क्षेत्रमा सिँचाइ सुबिधा पुगेको, २ वटा सौर्य उर्जाको निर्माण गरिएको मन्त्रालयले जनाएको छ। भौतिक पूर्वाधार विकास मन्त्रालयले ४४ वटा जनता आवास योजना, ४ वटा एकीकृत नमुना बस्ती निर्माण भएको जनाएको छ। मन्त्रालयले सहरी तथा भवन निर्माण तर्फका ३२ वटा योजना सम्पन्न भएको जनाएको छ।

यातायात व्यवस्थातर्फ ७ हजार ६३९ दुई प्राङ्गे सवारी दर्ता भएको, ८९७ तीन पाङ्ग्रे सवारी तथा ७२७ चार पाङ्ग्रे सवारी दर्ता भएको सार्वजनिक प्रगति विवरणमा उल्लेख छ। साथै एक वर्षमा मन्त्रालयले २० हजार ९५ चालक अनुमति पत्र वितरण गरेको छ। यातायात व्यवस्था कार्यालयको काम सहज हुने गरी सेवा सुधारको काम भइरहेको भौतिक पूर्वाधार विकास मन्त्री देउवाको भनाई छ।

भौतिक पूर्वाधार विकास मन्त्रालयले त्रिनगर भन्सार कार्यालय, कैलाली र कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा भारत तथा तेस्रो मुलुकबाट आउने सवारी साधनको अस्थायी अनुमति वितरण कार्यलाई प्रभावकारी बनाउन आवश्यक नीतिगत व्यवस्था गरिन लागेको जनाएको छ।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस