सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा विद्यालय र शिक्षा समन्वय इकाइ नै लुकाउँछन् रिक्त दरबन्दी

२०८० माघ २६, ०६:५६ नारायण अवस्थी

धनगढीः सुदूरपश्चिमबाट निम्न माध्यमिक तहको नेपाली शिक्षकमा एक नम्बरमा सिफारिस भएका डोटीका तीर्थराज भट्टले शिक्षा विकास तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशकलाई सम्बोधन गरेर खुला पत्र सम्प्रेषण गरेका छन्। भट्टले विद्यालयमा रिक्त दरबन्दी लुकाउने प्रवृत्ति रहेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

भट्टले विद्यालय, शिक्षा शाखा तथा जिल्ला शिक्षा समन्वय इकाइमा रिक्त दरबन्दी लुकाउने गरेको आशँका गरेका छन्। उनको आशँका कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ५ ‘ग’ गाउँमा रहेको गौरीशंकर माध्यमिक विद्यालयमा ट्याक्कै मिलेको छ। उक्त विद्यालयमा २०७८ मंसिरभन्दा अगाडिदेखि रिक्त रहेको निम्न माध्यमिक तहको नेपालीको एक दरबन्दी लुकाइएको पाइएको हो। विद्यालयमा २०७८ मंसिर २० गतेदेखि सो पदमा एक जना करार शिक्षक कार्यरत छन्।

सो पदको विज्ञापन यसअघि नै भईसक्नुपर्नेमा अहिलेसम्म उक्त रिक्त दरबन्दीको माग पालिकको शिक्षा शाखा र जिल्ला शिक्षा समन्वयबाट नभएको प्रधानाध्यापक लेकेन्द्र थापाले बताए। ‘रिक्त दरबन्दी मागेको थियो, त्यो हामीले दिएको हो। खाली भएपछि नै दिएको हो’, उनले भने, ‘खाले के छ भन्ने रिपोर्ट मागेको थियो त्यतिबेला पनि दिएको हो।’

प्रधानाध्यापक थापाले हाल करारको शिक्षक कार्यरत पद रिक्त रहेको विवरण जिल्ला शिक्षा समन्वय इकाइमा लेखी पठाएको दाबी गरेका छन्। पुनर्वास नगरपालिकाको शिक्षा शाखा प्रमुख शिवराज भट्टले भने रिक्त दरबन्दीको विवरण विद्यालयहरूले सोझै जिल्ला शिक्षा समन्वय इकाई पठाउने गरेको बताए। रिक्त दरबन्दीको विज्ञापन हुनु या नहुनुमा पालिका जिम्मेवार नरहेको भट्टको तर्क छ। उनले गौरीशंक माध्यमिक विद्यालयमा करारको शिक्षक कार्यरत रहेको थाहा भएको तर उक्त पदको माग आकृति फाराम भरे/नभरेको थाहा नभएको बताए। तीन वर्षदेखि रिक्त रहेको स्थायी दरबन्दीको माग आकृति फाराम शिक्षा विकास तथा मानव स्रोत विकास केन्द्रलाई जिल्ला शिक्षा समन्वय इकाइ कञ्चनपुरले बुझाउनुपर्ने तर्क महानिर्देशक दीपक शर्माको छ। उनले प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति, पालिकाको शिक्षा शाखा हुँदै रिक्त दरबन्दीको विवरण जिल्ला शिक्षा समन्वय इकाईमा आउने र इकाईले जिल्लाका सम्पूर्ण रिक्त दरबन्दीको विवरण केन्द्रमा पठाउने बताएका छन्। केन्द्रबाट कुन तह र विषयमा कुन जिल्लामा जति दरबन्दी रिक्त छन्। तिनको विवरण शिक्षक सेवा आयोगमा पठाउने र आयोगले विज्ञापन गर्ने प्रक्रिया पूरा गर्नुपर्ने महानिर्देशक शर्माले बताए।

तर, जिल्ला शिक्षा समन्वय इकाई कञ्चनपुरका प्रमुख दिपकराज कलौनीले दरबन्दी लुकाएको भन्न नमिल्ने जिकिर गरेका छन्। कलौनीले भने, ‘त्योलाई लुकायो नै कसरी भन्ने? जबकि करारमा शिक्षक काम गरिरहेको छ। करारको भर्ना प्रक्रियामा त नगरपालिका, विद्यालय, इकाई सबैको विज्ञ तोक्नेदेखि लिएर प्रोसेसका सबै कुरा आउँछन् नि!’ रिक्त दरबन्दीको विवरण शिक्षा विकास तथा मानव स्रोत विकास केन्द्रमा नपुग्नुको मुख्य जिम्मेवार प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समिति हुने तर्क महानिर्देशक शर्माको छ।

पुनर्वास नगरपालिकाको शिक्षा शाखा रिक्त दरबन्दीको विवरण पठाउने जिम्मेवारी आफ्नो नभएको भन्दै पन्छिएको छ भने जिल्ला शिक्षा समन्वय प्रमुख कलौनीले रिक्त दरबन्दी खाली रहनुको कारणबारे थप बोल्न आनाकानी गरे। रिक्त दरबन्दीको विवरण पठाउने प्रक्रिया प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति र जिल्ला शिक्षा समन्वय इकाईले पूरा गरेको या नगरेकोहेर्नुपर्ने महानिर्देशक शर्माले बताए। ‘२०७८ मंसिर २० गतेपछि लेखेर पठाउनुपर्नेमा स्कुलले लेखेर पठायो कि पठाएन? स्कुलले लेखेर पठाएको छैन भने त्यो स्कुलको जिम्मा भो। स्कुलले लेखेर पठाएर पनि स्थानीय तह र जिल्लाले लेखेर पठाएन भने त्यो उनीहरूको गल्ती भयो। त्यो कहाँबाट लेखेर पठाइएन हेर्नुपर्छ।’ प्रधानाध्यापक थापाले रिक्त दरबन्दीको विवरण पठाउने पत्रको हरेक वर्ष जवाफ दिने गरेको बताए।

तर दुई वर्षदेखि भने रिक्त दरबन्दी पठाउने पत्र विद्यालयमा नआएको उनको दाबी छ।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस