धनगढीमा कार र स्कुटर दुर्घटना प्रकरणः तथ्य लुकाउदै प्रहरी
धनगढीः कैलालीको धनगढीमा बिहिवार साँझ ७ बजेर ५० मिनेटमा कार र स्कुटर एक आपसमा ठोक्किए।
धनगढी उपमहानगरपालिका–४ का मनिष कुँवरले चलाएको बा ९ च २६२५ नम्बरको कार र गोदावरी नगरपालिका–५ गेटाका रस्सन दहितले चलाएको से ६ प ७१८७ नम्बरको स्कुटर आपसमा ठोक्किएका हुन्। सहिदगेटमा भएको दुर्घटनाका घाइतेलाई प्रहरीले उपचारका लागि सेती प्रादेशिक अस्पताल पठायो। प्रहरीको सञ्चारमा समेत घाइतेहरु दहित र चौधरीलाई सेती अस्पताल पठाएको रिपोर्ट छ।
तर, नेपाल विद्यार्थी संघ (नेविसंघ) कैलालीका सभापतिसमेत रहेका कुँवरले घाइतेहरुलाई माया मेट्रो अस्पतालमा लगेर गए। दहितको दायाँ खुट्टा भाँचिएको छ भने चौधरीको दायाँ खुट्टा भाँचिएको छ। साथै ढाँडमा समेत चोट छ। उनीहरुको शुक्रवार शल्यक्रिया गरिएको छ। अस्पताल स्रोतका अनुसार घाइतेहरुलाई एचडियू कक्षमा राखिएको छ। उक्त कक्षमा अन्य व्यक्तिलाई प्रवेश गर्न दिइएको छैन।
तथ्य लुकाउदै प्रहरी
सेती प्रादेशिक अस्पतालमा उपचारका लागि घाइतेहरु पठाएको रिपोर्ट तयार पारेको कैलाली प्रहरीले बाँकी विवरण भने लुकाएको छ। कैलाली प्रहरीले दुबै सवारी नियन्त्रणमा लिएको बताएको छ। तर, सहिदगेट प्रहरीसँग स्कुटर मात्र छ। जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता कुलदिप चन्दले उक्त कार पनि सहिदगेट प्रहरीको नियन्त्रणमा रहेको बताए।
दुबै सवारी चालकहरुले मादक पदार्थ सेवन गरेका कारण दुर्घटना भएको प्रत्यक्ष दर्शीले बताएका छन्। तर, कैलाली प्रहरीले मादक पदार्थ सेवन (मापसे)को रिपोर्ट अस्पतालले नदिएको बताएको छ। कैलाली प्रहरीका प्रवक्ता चन्दले भने, ‘मापसेको रिपोर्ट अस्पतालले तयार पार्ने हो। हामी कहाँ रिपोर्ट आएको छैन।’ कैलाली प्रहरीले सवारी चालकहरुसँग सवारी चालक अनुमति पत्र (लाइसेन्स) भए/नभएकोसमेत छनबिन गरेको छैन।
जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता चन्दले उनीहरुको उद्धार तथा उपचारमा मात्र प्रहरी सुरुमा लागेको बताए। ‘हामीले कागजपत्र हेरेका छैनौ। सुरुमा उद्धार र उपचारमा लागेका हौ। म पनि घटना स्थलमा थिए,’ चन्दले भने। कुँवर शुक्रवार जिल्ला प्रहरी कार्यालय, कैलाली पुगेका थिए। तर, उनीसँग सवारी चालक अनुमति पत्र भए/नभएको विषयमा कैलाली प्रहरीले खुलाएको छैन।
यता, मनिष कुँवरले भने आफूले मादक पदार्थ सेवन नगरेको दाबी गरेका छन्। स्कुटरमा सवार दहित र चौधरीले मादक पदार्थ सेवन गरेका उनको तर्क छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय, कैलालीसँग पनि दुर्घटना भएको विवरण छ। तर, सवारी चालकहरुले मादकपदार्थ सेवन गरे वा नगरेको विषयमा ट्राफिक प्रहरीले समेत खुलाएको छैन्। उनीहरुले सवारी चालक अनुमपतिपत्र भए/नभएको विषयसमेत खुलाएका छैनन्।