सुदूर नेपाललाई विश्वसँग जोड्दै

यी हुन् टीकापुरमा नक्कली कागजात खडा गरेर जग्गा हत्याउने मुख्य योजनाकार

२०८० माघ २६, ०२:०२ खबर संवाददाता

धनगढीः कैलालीको टीकापुरमा नक्कली कागजात खडा गरेर सार्वजनिक जग्गा हड्प्ने मुख्य योजनाकारसहित दुई सय ४९ विरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ।

नक्कली कागजात खडा गरी करिब ७ बिघा सार्वजनिक जमिन हड्पेका तत्कालिन पदाधिकारी र कर्मचारी विरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको हो। टीकापुर नगर विकास समितिका तत्कालिन पदाधिकारी र कर्मचारीसहित दुई सय ४९ विरुद्ध भ्रष्टाचारको मुद्दा विशेष अदालतमा दायर भएको छ। समितिका तत्कालीन तीन अध्यक्ष, कर्मचारी र बाँकी २ सय २८ जनालाई प्रतिवादी बनाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।

अख्तियारको अभियोगपत्रमा ६ बिघा १९ कट्ठा १० धुर जग्गा हिनामिना गरेको कसुरमा प्रतिवादीविरुद्ध २ करोड ५० लाख ६ हजार ८ सय ६९ रुपैयाँ बिगो, कैद र जरिवाना तथा व्यक्तिका नाममा लगिएको जग्गा जफतको मागदाबी गरिएको छ। बिगो रकम मालपोतमा देखाइएको न्यून मूल्यांकनका आधारमा कायम गरिएको हो।

नगर विकास समितिका पदाधिकारी एवं कर्मचारीसहित एक सय ३५ विरुद्ध बिगो, कैद र जरिवाना तथा जग्गा हडप्ने कार्यमा सामेल तर हाल मृत्यु भइसकेका ७ जनाको हकमा नजिकका हकवालाविरुद्ध बिगो, जग्गा जफत र जग्गा आफ्ना नाममा राखेका एक सय ७ विरुद्ध जग्गा जफत प्रयोजनका लागि प्रतिवादी बनाइएको छ।

अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जग्गा हडप्ने काममा योजनाबद्ध रूपमा नक्कली कागजात बनाउनेदेखि हुँदै नभएको हकदाबी गर्नेसम्मका व्यक्तिलाई कारबाहीको दायरामा ल्याइएको बताए। समितिका तत्कालीन पदाधिकारी, कर्मचारी, राजनीतिक दलका नेता/कार्यकर्ता र बिचौलियाको योजनामा नक्कली कागजात खडा गरी सरकारी एवं सार्वजनिक जग्गा व्यक्ति विशेष तथा संघसंस्थालाई बिक्री गरी राज्यलाई हानिनोक्सानी पु¥याएको अभियोगपत्रमा उल्लेख छ।
तत्कालिन अध्यक्ष जोशी, ताम्राकार र रेग्मी विरुद्ध भ्रष्टाचार मुद्दा
टीकापुर नगर विकास समितिका तत्कालीन अध्यक्षहरूमा नेत्रप्रसाद जोशी, ललित ताम्राकार र धीरजराज रेग्मी विरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएको छ। जोशीलाई २ करोड १२ लाख ४० हजार ९४४ रुपैयाँ बिगो, बिगोबमोजिम जरिवाना तथा कैदसजाय माग गरिएको छ।

ताम्राकारले २०६८ जेठ ४ मा सर्वदलीय समिति गठन गरी अस्थायी निस्सा पाएका व्यक्तिहरूलाई जग्गा दिने निर्णय गराएका थिए। उनीविरुद्ध ५९ लाख ३ सय ८० रुपैयाँ बिगो कायम गरिएको छ। यस्तै, रेग्मीले विकास समितिको २०७० भदौ १२ को बैठकबाट व्यक्तिहरूका नाममा जग्गा स्रेस्ता पुर्जा उपलब्ध गराउने निर्णय गराएका थिए। उनीविरुद्ध ६६ लाख ९८ हजार ८९२ रुपैयाँ बिगो कायम गरिएको छ।
जग्गा हडप्ने यी हुन् मुख्य योजनाकार
टीकापुर नगर विकास समितिका तत्कालीन योजना प्रमुखहरू बलबहादुर कडायत, झप्परसिंह विश्वकर्मा, तत्कालीन सदस्यसचिव अम्बादत्त जोशी, नापी कार्यालय टीकापुरका तत्कालीन नापी अधिकृत मानबहादुर चन्द, तत्कालीन नापी अधिकृत गणेशबहादुर बम, मालपोत अधिकृत जयबहादुर विष्ट, नगर विकास समितिका खरिदार धनीराम भण्डारी, सब ओभरसियर नेत्रबहादुर रावल, तत्कालीन फिल्ड सुपरभाइजर देवीलाल घिमिरेलगायत कर्मचारीलाई पनि बिगो, कैद र जरिवपानासहित प्रतिवादी बनाइएको छ।
रावलको अध्यक्षतामा जग्गा हडप्ने गरी प्रपञ्च
बहुदलपछि राजनीतिक दलका नेता/कार्यकर्ताकै चलखेलबाट टीकापुरमा जग्गा हत्याउन योजनाबद्ध सेटिङ भएको खुलेको छ। पञ्चायतकालमा व्यक्तिलाई दिएर समितिका नाममा बाँकी रहेको जग्गा भूमिहीन र सुकुम्बासीको आवरणमा हत्याउनेदेखि पहुँच र प्रभाव भएकाले समितिका पदाधिकारी र कर्मचारीको मिलेमतोमा जग्गा व्यक्तिका नाममा खाने/मास्ने काम गरेको अभियोगपत्रमा उल्लेख छ।

त्यसको सुरुवात २०६६ चैत १६ को समितिको बोर्ड बैठकबाट सुरु भएको पाइएको छ। बैठकले गणेशसिंह रावलको अध्यक्षतामा ७ सदस्यीय समिति बनाएर जग्गा हडप्ने गरी प्रपञ्च रचेको र त्यसकै आधारमा झन्डै ७ बिघा जग्गा व्यक्तिका नाममा पुगेको अभियोगपत्रमा छ। रावलको समितिले विकास समितिको जग्गा व्यक्ति विशेषका नाममा दर्ता गर्न सिफारिस गरेको थियो। त्यहींबाट सुरु भएको खेलबाट अहिले जग्गा व्यक्तिका नाममा गइसकेको छ।
टीकापुर जग्गा घोटालाको राजनीतिक ‘कनेक्सन’
नेत्रप्रसाद जोशीः टीकापुर नगर विकास समितिका पूर्व अध्यक्ष हुन्, जोशी। सुरुमा नेपाली कांग्रेस निकट थिए, जोशी। विजय गच्छदारले कांग्रेस पार्टी छाडेर फोरम लोकतान्त्रिक गठन गरेपछि गच्छदारसँगै उनी फोरममा लागे। गच्छदारसँग सम्बन्ध बढाएर टीकापुर नगर विकास समितिको अध्यक्ष बने। त्यसपछि माओवादीमा डाक्टर बाबुराम भट्टराई नजिक भए। हाल उनी नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय सदस्य छन्।
ललित ताम्राकारः ताम्राकार टीकापुर नगर विकास समितिका पूर्व अध्यक्ष हुन्। ताम्राकार सुरुमा माओवादी पार्टीमा आबद्ध थिए। तत्कालीन प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईसँगको निकट सम्बन्ध भएका कारण टीकापुर विकास समितिको अध्यक्ष बनेका थिए। पछिल्ला दिनमा ताम्राकार नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय सदस्य छन्।

कमेन्ट लोड गर्नुस